पछिल्लो २४ घण्टामा ८ हजार ९६० जना कोभिड १९ का सङ्क्रमित थपिएका छन् । कूल २० हजार २४५ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कूल ५ हजार ५५ जना निको भएका छन् भने २१४ जनाको निधन भएको छ । हाल कूल ७४ दशमलव ६ प्रतिशत बराबरको निको हुने दर देखिएको छ ।
यस्तै, हालसम्म ४ हजार ४६६ जनाको कोरोनाका कारण निधन भएको छ । पछिल्लो विवरणसँगै देशभर कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
यस्तै, ३ लाख २१ हजार ५१८ जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल २७ लाख १२ हजार ५६२ जनाको रियल टाइम पीसीआर गरिएको छ ।
यस्तै मुलुकभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सक्रिय संक्रमितको संख्या ३१ हजार ७३ जना छन् भने एक लाख २४ हजार ४५३ जना निको भएका छन् । यस्तै एक हजार सात जनाको निधन भएको छ ।
भक्तपुरमा कूल ४ हजार ७५३ जना सक्रिय संक्रमित छन् भने १० हजार ६१४ जना निको भएका छन् भने २०१ जनाको निधन भएको छ ।
विवरण अनुसार ललितपुरमा कूल ६ हजार ८४० जना सक्रिय संक्रमति रहँदा १९ हजार २१५ जना निको भएका छन् भने २७२ जनाको ज्यान गएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा २ हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका छन् ।