काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानको तेल पनि कब्जामा लिन चाहेको बताएका छन् । उनले इरानको अधिकांश तेल निर्यात हुने खार्ग टापुमा पनि नियन्त्रण गर्न सक्ने उल्लेख गरेका छन् ।
ट्रम्पले फाइनान्सियल टाइम्ससँग यस्तो बताएका हुन् । इरान युद्धमा युद्धविरामका लागि पाकिस्तान र मध्यपूर्वका देशहरूबीच मध्यस्थताको प्रयास भइरहेको र सम्भावित स्थल आक्रमणका लागि हजारौँ अमेरिकी सेना मध्यपूर्व पुगेको अवस्थामा ट्रम्पको यो भनाइ आएको हो ।
यसका साथै ट्रम्पले पत्रकारहरूसँग इरानसँग चाँडै सम्झौता हुन सक्ने पनि बताए ।
अमेरिका र इरान युद्धाका कारण विश्व बजारमा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । एक महिनामा तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको समाचारहरू आइरहेका छन् ।
इरानमा अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले स्ट्रेट अफ होर्मुजमा अवरोध गरेको छ । यो मार्ग भएर विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुन्छ । जसका कारण विश्व बजारमा तेलको मूल्य बढेको हो ।
अर्कातर्फ इरानले रेड सीबाट हुने तेलको ढुवानीलाई पनि प्रभावित पार्ने चेतावनी दिएको छ । सन् २०२३ अघि यो मार्गबाट विश्वव्यापी रूपमा खपत हुने इन्धनको १२ प्रतिशत ढुवानी हुने गरेको थियो । तर, हाल यसमा कमी आएको बताइएको छ ।
"इमानदारीपूर्वक भन्नुपर्दा मेरो मनपर्ने कुरा इरानको तेल लिनु हो । तर, अमेरिकामा केही मानिसहरू भन्छन् कि तपाईं यस्तो किन गर्दै हुनुहुन्छ । ती मानिसहरू मूर्ख हुन्," फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भनेका छन् ।
ट्रम्पले यो कदममा खार्ग टापु कब्जा गर्ने कुरा समावेश हुन सक्ने संकेत दिए । उनले भने, "हुन सक्छ हामी खार्ग टापु लिन्छौँ, हुन सक्छ लिँदैनौँ । हामीसँग धेरै विकल्पहरू छन् । यसको अर्थ यो पनि हुनेछ कि हामीले त्यहाँ केही समयसम्म बस्नुपर्ने हुन्छ ।"
जब उनलाई टापुको सुरक्षा व्यवस्थाबारे सोधियो, उनले भने, "मलाई लाग्दैन कि उनीहरूसँग कुनै खास सुरक्षा छ । हामी यसलाई धेरै सजिलै लिन सक्छौँ ।"