प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गरेका छन् ।
देउवाले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि विपक्षी दलको गठबन्धनका सांसदको हस्ताक्षरसहित आज राष्ट्रपतिको कार्यालयमा उक्त दाबी गरेका हुन् ।
सभापति देउवाको दाबीमा कांग्रेसका ६१, नेकपा (माओवादी केन्द्र) का ४९, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६, जनता समाजवादी पार्टी नेपालका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ प्रतिनिधिसभाका सांसदको हस्ताक्षर रहेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पनि नयाँ प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । ओलीले एमाले र जनता समाजवादी पार्टी (जसपा) का गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गरेका हुन् ।
ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्रीमा दाबी गरेका हुन् । सो दाबीपत्रमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा एमालेका अध्यक्ष एवं दलका नेता ओलीले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा सरकारले विश्वासको मत लिन सक्ने बलियो राजनीतिक आधार नभएको भनी मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री ओलीको आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि समय दिएकी थिइन् ।
प्रतिनिधिसभामा हाल २७१ जना सांसद सङ्ख्या रहेको छ ।