नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई तीन विकल्प दिएका छन् । मन्त्रीको गैह्रजिम्मेवार अभिव्यक्तिको उपचार; तीन विकल्प भन्दै शर्माले ती विकल्प सुझाएका हुन् ।
शर्माले दिउकव पहिलो विकल्पमा स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना छ । त्यस्तै दोस्रो विकल्प सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा उनको विकल्प छ । तेस्रो विकल्प भने शर्माले पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वार पदमुक्त गर्नुपर्ने शर्माले सुझाएका छन् ।
शर्माले तीन उपचारका पछिल्तिर तीन कारण भनेर थप स्पष्ट पारेका छन्, ‘(१) राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनै पर्दछ । (२) हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य हुनुहुन्न (३) विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न ।
शर्मा केही दिनदेखि कोरोना सङ्क्रमित भएर उपचाररत छन् । मन्त्री यादवको अभिव्यक्तिलाई लिएर काङ्ग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले यसअघि नै राजीनामा मागिसकेका छन् । राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने आवाज उठाएका छन् ।
जनता समाजवादी पार्टीबाट मन्त्री भएकी यादवलाई बुधबार रौतहटको गौरमा जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाउँदै कार्यक्रमस्थलमा अवरोध गरेका थिए । प्रहरीले रुट परिवर्तन गरी कार्यक्रमस्थल पुर्याएको थियो । पार्टीको कार्यक्रममा मन्त्री यादवले आक्रोशित हुँदै अर्काे गौरकाण्ड हुने चेतावनी दिएकी थिइन् ।
मन्त्री यादवले कार्यक्रममा बोलेको भिडियो बाहिरिएपछि त्यसको सर्वत्र आलोचना भइरहेको छ । उनलाई पद मुक्त गर्न प्रधानमन्त्रीले देउवालाई दबाब परेको छ ।