काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ५९ जना नयाँ संक्रमितहरु थपिएको जानकारी दिएको छ ।
मन्त्रालयले नियमित रुपमा उपलब्ध गराउँदै आएको विवरणअनुसार मंगलबार उक्त संख्यामा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएको जानकारी दिएको हो । थपिएका संक्रमितमध्ये ४ सय ४६ जना महिला छन् भने १ हजार १३ जना पुरुष छन् ।
यससँगै नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५६ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा कोरोना भाइरस जितेर डिस्चार्ज हुनेहरुको संख्या १ हजार ६२ जना छ । हालसम्म ४० हजार ६ सय ३८ जनाले कोरोना भाइरस जितेको मन्त्रालयको तथ्यांक छ । हालसम्म नेपालमा ७१.५ प्रतिशतले कोरोना भाइरस जितेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मंगलबार १० हजार ३ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको छ । यो सँगै नेपालमा कुल पिसिआर परीक्षण भएको संख्या ८ लाख ६१ हजार ७ सय ८० पुगेको छ ।
हालसम्म कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ रहेको र ४० हजार ६ सय ३८ जनाले कोरोना भाइरस जितेपछि हाल नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ रहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा छन् भने ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा छन् । त्यसै गरी क्वारिन्टिनमा हुनेहरुको संख्या ७ हजार २ सय ५० छ ।
त्यस्तै १ सय ७४ जना आइसियुमा २८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले प्रदेश १ को मोरङ र सुनसरीमा तथा बागमती प्रदेशका काठमाडौं, भक्तपुर, चितवन र मकवानपुर तथा प्रदेश ५ को रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमित रहेको जानकारी दिएको छ ।
त्यसै गरी सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु तथा हुम्लामा हाल संक्रमितहरु नरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण देखिएकामध्ये ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्य भएको छ । यसरी मृत्यु हुनेहरुमा सर्लाहीमा १, सिराहा १, बारा २, काठमाडौं ४, मकवानपुर १, रुपन्देही १ र कपिलवस्तु १ छन् ।
यससँगै कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ७ सय ७१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा ६ सय ७३ जना संक्रमित थपिए
मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरसका ६ सय ७३ जना नयाँ संक्रमितहरु थपिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८३ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका हुन् ।