काठमाडौं । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ शिरुटारस्थित कौशलटार बालकोट बिरुवा सडकको अनुगमन गरेका छन् ।
बिहीबार सूर्यविनायक नगरपालिका वडा नम्बर १ का स्थानीयको उपस्थितिमा सडक अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेशभित्रका धेरै ठूला योजनाहरू सम्पन्न हुने जानकारी गराउँदै भक्तपुरको अधुरा विकास निर्माणका कार्यहरूलाई पनि आफ्नै कार्याकालमा पूर्णता दिने प्रतिबद्धता जनाए । उनले निर्माण व्यवसायीलाई समयमै कार्य सम्पन्न गर्न निर्देशन समेत दिए ।
उक्त सडक स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले १२ करोडको बहुवर्षीय योजना स्वीकृत गरेको थियो । उक्त योजनाको ठेक्का भइ निर्माण कम्पनी भण्डारी अमरज्योतिले ९ करोड १६ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य गर्दै आइरहेको पूर्वाधार विकास कार्यालय काभ्रेका लेखा अधिकृत श्रवण कुमार ढुंगानाले जानकारी दिए ।
त्यस्तै निर्माण व्यवसायी रामेश्वर बस्नेतले हालसम्म ८० प्रतिशत कार्त सम्पन्न भैसकेको र बाँकी कार्य सम्झौता अवधिभित्रै सकिने प्रतिबद्धता प्रकट गरे ।
उक्त अवसरमा बागमती प्रदेश सरकार, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डी.पी ढकालले भक्तपुरको समग्र विकास निर्माण र समृद्धिको पहलका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै आफू बागमती प्रदेश सरकार, मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार भएलगत्तै भक्तपुर आस्पतालमा सीटी स्क्यानको लागि ८ करोड चागुनारायण फास्ट ट्रयाकको लागि बहुवर्षीय योजना २० करोड कौशलटार बिरुवा सडकको लागि १२ करोड लगायतका थुप्रै योजनामा पहलकदमी लिएको बताए ।
कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, पूर्वमन्त्री महेश बस्नेत बागमती प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डी.पी. ढकाल बागमती प्रदेशसभा सदस्य किरण थापा, भावना श्रेष्ठ, सकुन्तला थापालगायतको उपस्थिति रहेको थियो ।