काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी विश्व वरियतामा ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।
क्रिकेटको अन्तर्राष्ट्रिय निकाय आईसीसीले जारी गरेको नयाँ वरियतामा ऐरी टी- २० विश्व वरियतामा अलराउन्डरतर्फ छैटौँ स्थानमा उक्लिएका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा ऐरीले ३ स्थान सुधार गर्दै छैटौँ स्थानमा पुगेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए ।
यसपटक ऐरीले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत पछि पारेका छन् । आईसीसीको नयाँ वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्दै पहिलो स्थानमा उक्लिएका छन् ।
श्रीलंकाका वनिन्दा हसरङगा दोस्रो स्थानमा, बंगलादेशका शकिल अल हसन तेस्रो स्थानमा छन् । चौथो स्थानमा अफगानस्थानका मोहम्मद नाबी रहेका छन् भने पाँचौँमा जिम्बावेका सिकन्दर राजा रहेका छन् ।
त्यस्तै, दीपेन्द्र पछाडि सातौँ नम्बरमा भारतका हार्दिक पाण्ड्या, आठौँमा इङ्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अली नवौं स्थानमा छन् । शीर्ष १० मा दक्षिण अफ्रिकाका एडेन मरकरम पनि परेका छन् ।
नेपालका कुशल मल्लको भने वरियता एक स्थानले खस्किएको छ । यसअघि ३५औँ स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६औँ स्थानमा पुगेका छन् ।
कप्तान रोहित पौडेलले ११ स्थान सुधार गर्दै ५५औँ स्थानमा उक्लिएका छन् । गुल्सन झा भने ६ वरियता खस्किएका छन् । यसअघि उत्कृष्ट १०० मा नै नपरेका कुशल भुर्तेल भने यसपटक ४३ स्थान सुधार गर्दै ७०औँ स्थानमा आएका छन् ।