काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मूल समारोह समितिको बैठकमा बिहीबार मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमुलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने जानकारी दिए ।
मन्त्री चौधरीले देशका युवाहरू नेपालमै बस्न योग्य बनाउन नसकेसम्म युवा दिवस मनाउनुको औचित्य नहुने बताए । उनले युवालाई रोजगारी सिर्जना गर्ने कुरामा बहस गर्नुपर्ने बताए ।
‘अहिले २५औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका छौँ । अर्को पटक २६औं मनाउँछौँ । हामी यो युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर होइन की थोरै मान्छे बसेर भव्यसभ्य कहिले पनि हुँदैन,' उनले भने, 'तपाईं र हाम्रा देशका युवाहरू जबसम्म नेपालमै बस्ने योग्य बनाउँदैनौँ, हाम्रा युवालाई रोजगारी सिर्जना गर्न सक्नुहुन्न, बहस र छलफलमा अघि बढाउन सक्नुहुन्न, तबसम्म राम्रो हुँदैन ।’
मन्त्री चौधरीले भने, ‘धेरे बालबालिकाहरू अहिले पनि पढ्न सकेका छैनन् । हामी २५ युवा दिवस मनाइरहेका छौँ । हामी युवा दिवस मनाउँ, भव्य र सभ्य रूपमा । आजदेखि प्रण गरौँ, नेपालमै कसरी रोजगारी, उत्पादन बढाउनसक्ने बहस अघि बढाऔँ । वर्षमा एकदिन मनाएर, चिया खाएर युवा दिवस सफल हुँदैन ।’
मन्त्री चौधरीले युवा दिवस युवा तथा खेलकुद मन्त्रालयमा ३६१ जना बसेर सभ्य, भव्य नहुने बताए ।