भक्तपुर । भक्तपुरमा पहिलोपटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगितामा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न सफल भएको छ ।
नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते सम्पन्न प्रतियोगितामा भक्तपुरले ३ स्वर्ण र ४ रजत पदक जित्दै उपाधि घरमै राख्न सफल भयो ।
प्रतियोगितामा मेन डोजो रङ्गशाला २ स्वर्णसहित दोस्रो स्थानमा रहँदा, फाइट क्लब १ स्वर्ण र २ रजत पदकका साथ तेस्रो भयो ।
महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि अस्मिता दोङ तामाङले प्राप्त गरिन् भने पुरुषतर्फ सुनिम श्रेष्ठ उत्कृष्ट घोषित भए ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले गरेका थिए । उनले खेल मात्र नभई समाज विकासको एक आधार भएको बताउँदै, खेलाडीहरूको समुचित विकासमा सरकारको ध्यान केन्द्रित रहने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा महिला र पुरुष गरी ११ तौल समूहमा प्रतिस्पर्धा भएको थियो भने २ वटा प्रो फाइटसमेत समावेश गरिएको थियो । प्रो फाइटमा सिरिस भुजु र प्रविन मोक्तान विजेता घोषित भए ।
प्रमुख स्वर्ण पदक विजेता खेलाडीहरू:
- पुरुष ५१ केजी: सञ्जु सुब्बा
- पुरुष ५४ केजी: आशिक कोली
- पुरुष ५७ केजी: बिबद्र राई
- पुरुष ६३.५ केजी: अर्जुन के.सी
- पुरुष ६७ केजी: सुनिम श्रेष्ठ
- पुरुष ७५ केजी: अनिप देउला
- खुला समूह: उपेश देउला
- महिला ५२ केजी: अस्मिता दोङ
- महिला ५७ केजी: बबिता कार्की
- महिला ६० केजी: चन्द्र कुमारी भुजेल
भक्तपुरको जगातीको इट्टा टाइल कारखानाको हलमा सम्पन्न प्रतियोगिता बिना विवाद र चोटपटक सम्पन्न भएको आयोजकले जनाएको छ । वर्षाका कारण खुला स्थानमा आयोजना गर्न नसकिए पनि दर्शकको ठूलो उपस्थिति देखिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको सभापतित्व नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष कृष्णराम जाकिबञ्जारले गरेका थिए । खेलको प्रमुख निर्णायकको भूमिका राजु सिंह बजिखोंले निर्वाह गरेका थिए ।
२० जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको दुई दिने प्रतियोगितामा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले उत्कृष्ट खेलाडी र विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए ।
उनले आगामी संस्करण ऐतिहासिक स्थल पाँचतले वा दत्तात्रय परिसरमा आयोजना गर्न सकिने सुझाव दिए ।