काठमाडौं । माबिलिङ्ग इनर्जी लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ भने ढिलोमा साउन १९ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ४ गतेभित्र आवेदन दिनु पर्नेछ ।
कम्पनीले दिएको जानकारीअनुसार न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
त्यसमध्ये ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो ।
उक्त शेयर खरिदका लागि संखुवासभाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार ४७१ कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरेको छ ।
कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।