काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका महत्त्वपूर्ण राजमार्गहरू यतिबेला लथालिङ्ग अवस्थामा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । ‘देशका सबै राजमार्गहरूको अवस्था लथालिङ्ग छ, निर्माण कार्य सुस्त छ । एकातिर देशको मुहार फेर्ने राजमार्गहरू सुस्त र गतिहीन हुने, अनि अर्कोतर्फ नेताजीहरूको क्षेत्र र उहाँहरूको स्वार्थमा रफ्तारमा सडक निर्माण हुने, यो दुःखद् कुरा हो,’ उनले भने ।
राजमार्ग बनाउने कामले गति लिन नसकेको भन्दै साहले प्रश्न गरे । ‘म जान्न चाहन्छु कि महेन्द्र राजमार्गको काम किन स्लो भयो ? हुलाकी राजमार्गको निर्माणकार्य किन गतिहीन छ । बुटवल–नारायणघाट सडक किन रोकिएको छ ?’ साहले सरकारसँग प्रश्न गरे ।
उनले मुग्लिन–पोखरा र मुग्लिन–नौबिसे सडकको पनि उस्तै अवस्था रहेको बताए । काठमाडौं–तराई/मधेश द्रूतमार्गको काम किन ढिलो गरिएको भन्दै साहले प्रश्न गरे ।
‘यसको प्रगति के छ ? सरकारी कामको प्रगति देखिन्छ, जुनबेला फास्ट ट्रयाक सुरु भयो, त्यतिबेला नै मध्यपहाडी लोकमार्ग सुरु भयो, यो सडकमा झण्डै १४ सय किलोमिटर सडक पिच भएको सुन्छौँ, झण्डै ८५ प्रतिशत प्रगति छ । तर, फाष्ट ट्रयाक एक इन्चपनि पिच हुन सकेन, जो ७० किलोमिटर छ । हामी जान्न चाहन्छौँ कि त्यसको प्रगति किन बढ्न सकेन ? किन त्यसमा जहिल्यै पनि विवाद मात्रै सुन्नुपरेको छ । नेपाली सेनालाई जिम्मा दिएको नै ६ वर्ष भैसकेको छ,’ साहले भने ।
‘यो फास्ट ट्रयाक निर्माणको काम सेनालाई दिएको नै झण्डै ६ वर्ष भैसक्यो, नेपालको सबभन्दा गौरवशाली संस्था र देशको मेरुदण्ड हो नेपाली सेना । आज सेनाको हुर्मत लिने काम भैरहेको छ । सेनामाथिको विश्वास घटाउने काम भैरहेको छ, नेपाली जनतामा आर्मीप्रति एउटा ठूलो आस्था छ । ठूलो भरोसा छ । तर, यहाँ दुनियाँले नगरेको काम आर्मीलाई दिइएको छ, अनि आर्मीले लिएको काम पनि समयमा हुन सकिरहेको छैन । यो किन भएन भनेर जान्न चाहन्छौँ ?’