काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनै पनि पूर्वधारणा वा दबाबबिना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालय त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
आयोगले प्रतिवेदन बुझाएलगत्तै मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सर्वसाधारणका लागि सार्वजनिकसमेत गरेको छ ।
गएको वर्ष साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको सो जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
उक्त दुर्घटनामा १८ जनाको दु:खद मृत्यु भएको थियो भने पाइलट मनीष शाक्य जीवितै उद्धार गरिएको थियो ।
दुर्घटना भएको दिन नै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो ।