काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलका नेताहरूमाथि राजनीतिक प्रतिशोध लिइरहेको टिप्पणी गरेका छन् । उनले प्रतिशोध लिने क्रम नरोकिएको पनि बताएका छन् ।
पार्टी सम्बद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको शृखला कांग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेर टुंगिने दाबी उनको थियो । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए ।
यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत रहेको पनि पुनको आरोप छ । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको उनको दाबी छ ।
भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको पुनको दाबी छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको पुनको दाबी छ ।
‘जब सीआईबी, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट केही पनि भेटिएन, सकिँदैन भनेपछि धेरै पहिला कुनै बेला उहाँका पीए बसेका विकेश श्रेष्ठमार्फत तान्न सकिन्छ कि भनेर शेरा दरबारतिर लाग्नुभयो, यो कुरा पुष्टि नै भइसकेको छ’, पुनले भने ।
प्रचण्डले शेरा दरबारबाट सुरु गरेर यति, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धुसहित सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएपछि ओली चुप लागेको उनको भनाइ थियो । आफूहरूले नेकपा कालमा ओलीसँग तीन वर्ष सँगै काम गरेको र उनको तरिकासँग परिचित रहेको पुनले बताए ।
‘सबै एमाले होइन, ओलीको झण्डामुनि रहेको दक्षिणपन्थी र एकाधिकारवादी सानो गिरोहविरुद्ध हामी लडिरहेका छौँ । केही गल्ती नगरेका कारण हामी डराएका छैनौँ । अरु पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभौलो मच्चाउने, तोडफोड गर्न सक्नुहुन्न’, उनले भने ।
पुनले ओली सरकारको एक वर्ष त्यसै खेर गएको बताए । सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप उनको छ ।
‘केपी ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बितेको छ । भ्रष्टाचारका एकपछि अर्को काण्ड थपिएको छ’, पुनले भने, ‘भर्खरै घुस मागेका एक मन्त्रीले राजीनामा दिए । अर्काको फेरि घुस डिल गरेको अडियो सार्वजनिक भएको छ । एक वर्षमा सरकारले विचौलिया पोस्ने कामबाहेक केही गरेको छैन ।’