काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक) हरूको लाभांश वितरण सम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ ।
केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्ता संस्था (बैंक तथा वित्तीय संस्थाबाहेक) ले आर्जन गरेको मुनाफको बाँडफाँट तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले मार्गदर्शन जारी गरिएको जनाएको छ ।
मार्गदर्शनको कार्यान्वयनबाट संस्थाहरूले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमताको वृद्धि तथा विकास हुँदै जाने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको राष्ट्र बैंकले जनाएको छ ।
लाभांश वितरणका पूर्वसर्तहरूः
लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक हुने र त्यसका लागि अनुमतिपत्र प्राप्त संस्थाले कम्तीमा देहायका पूर्वसर्तहरू पालना गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
(१) लाभांश घोषणा गर्दा संचित मुनाफा ऋणात्मक नरहेको ।
(२) संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने ।
(३) शेयर प्रिमियम एवं Bargain Purchase Gain बाट नगद लाभांश घोषणा गर्न नपाईने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको Net worth ऋणात्मक नरहेको ।
(४) नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको ।
(५) संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरु (Loan Covenants) ले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको ।
(६) यस बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको ।
