काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरूमध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गरेका छन् ।
मंगलबार खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मन्त्रालयले चुनौतीपूर्ण परिस्थिति हुँदै पनि सन्तोषजनक कामगर्दै उदाहरणीय नतिजा प्रस्तुत गरेको उल्लेख गरे ।
उनले भने, ‘गत वर्षको प्राकृतिक विपद्, स्रोतको सीमितता र प्राविधिक जटिलतासहितका थुप्रै चुनौतीहरूको सामना गर्दै, मन्त्रालयसहित विभाग देशव्यापी रूपमा खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको छ । यो हाम्रा लागि निकै खुशीको विषय हो ।‘
गत वर्षको प्राकृतिक विपद्, स्रोत र बजेटको सीमितता तथा प्राविधिक जटिलताका बाबजुद मन्त्रालय र विभागले देशभर खानेपानी तथा सरसफाइ क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गर्न सफल भएको मन्त्री यादवले बताए ।
उनले भने, ‘खानेपानी मन्त्रालय अहिले विकासे मन्त्रालयहरूमध्ये सबैभन्दा उत्कृष्टको रूपमा स्थापित हुनुका साथै जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको एक संवेदनशील र सेवाप्रदायक मन्त्रालय सावित भएको छ ।‘
खानेपानी तथा ढल व्यवस्थापन विभागले यस दिशामा खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै मन्त्री यादवले गत आर्थिक वर्षमा हासिल भएका प्रगतिहरूले हाम्रो राष्ट्रिय लक्ष्य ‘स्वच्छ नेपाल : स्वस्थ नेपाली’ लाई प्राप्त गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्याएको जिकिर गरे ।
‘हामी सबैका लागि विगत वर्षमा हासिल भएका उपलब्धिहरूको समीक्षा गर्ने, सामना गरेका चुनौतीहरूको स्पष्ट पहिचान गर्ने र भविष्यका लागि ठोस कार्यदिशा तय गर्ने एक महत्त्वपूर्ण घडी हो,’ उनले भने, ‘यो समीक्षा केवल तथ्याङ्कहरूको प्रस्तुति मात्र नभई, हाम्रो सामूहिक प्रयास, समर्पण र भविष्यका लागि नवीन योजनाहरूको खाका तयार पार्ने अवसर पनि हो ।‘
मन्त्री यादवले खानेपानी मन्त्रालयको व्यवस्थापन क्षमता थप सुदृढ गर्न खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत अस्थायी संरचनामा सञ्चालन भइरहेका आयोजनाहरूलाई १५ वटा स्थायी कार्यालयको रूपमा रुपान्तरण गरिएका कारण यसले आयोजनाहरूको दिगो सञ्चालन र व्यवस्थापनमा सहयोग पुग्ने बताए ।