काठमाडौं । न्युजिल्यान्डले हालै जिम्बाबेलाई टेस्ट क्रिकेटमा फराकिलो अन्तरले पराजित गरेको छ । न्युजिल्यान्डले जिम्बाबेविरुद्ध एक पारी तथा ३५९ रनको विशाल अन्तरले जित निकालेको हो ।
यो जितसँगै न्युजिल्यान्डले ६७ वर्ष पुरानो रेकर्ड तोडेको छ । यो विश्व टेस्ट क्रिकेटमा हालसम्मकै तेस्रो सर्वाधिक अन्तरको जित हो ।
यसअघि यो रेकर्ड वेस्टइन्डिजको नाममा थियो । वेस्टइन्डिजले सन् १९५८ मा भारतविरुद्ध एक पारी तथा ३३६ रनको जित निकालेको थियो ।
आउनुस् विश्व टेस्ट इतिहासका हालसम्मकै फराकिलो अन्तरका बारेमा चर्चा गर्नेछौँ ।
एक पारी र ५७९ रनको जितः
टेस्ट क्रिकेटको इतिहासमा हालसम्मकै फराकिलो अन्तरको जित निकाल्ने टोली इङ्ल्यान्ड हो । इङ्ल्यान्डले अस्ट्रेलियविरुद्ध यो उपलब्धि हाँसिल गरेको हो ।
सन् १९३८ मा द ओभलमा भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई एक पारी र ५७९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
सर लियोनार्ड हटनको ३६४ रनको तेहेरो शतकको बलमा इङ्ल्यान्डले ९०३ रनमा ७ विकेट गुमाउँदै पहिलो पारीको घोषणा गरेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाको पहिलो पारी २०१ रनमा टुंगिएको थियो । त्यस्तै दोस्रो पारी १२३ रनमा समेटिएको थियो । यससँगै इङ्ल्यान्डले टेस्ट क्रिकेट इतिहासमै हालसम्मकै सर्वाधिक फराकिलो जित निकालेको हो ।
एक पारी र ३६० रनको जितः
विश्व टेस्ट इतिहासमा सर्वाधिक अन्तरको दोस्रो जित अस्ट्रेलियाले निकालेको छ । सन् २००२ मा अस्ट्रेलियाले यो उपलब्धि हाँसिल गरेको हो ।
सन् २००२ मा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई एक पारी तथा ३६० रनले पराजित गर्दै यो उपलब्धि हाँसिल गरेको हो ।
एडम गिलक्रिस्टको २०४ रनको दोहोरो शतकको बलमा अस्ट्रेलियाले जोहानेसबर्गमा ७ विकेट गुमाउँदै ६५२ रनमा पारी घोषित गरेको थियो ।
जवाफमा दक्षिण अफ्रिकाको पहिलो पारी १५९ रनमा समेटिएको थियो । त्यस्तै दोस्रो पारी १३३ रनमा समेटिएपछि अस्ट्रेलियाले यो फराकिलो जित निकालेको हो ।
तेस्रो ठूलो जितः
विश्व टेस्ट इतिहासको सर्वाधिक अन्तरको तेस्रो जित न्युजिल्यान्डले निकालेको हो । यही अगस्ट (सन् २०२५) मा जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्डले यो उपलब्धि हासिल गरेको हो ।
जिम्बाबेविरुद्ध न्युजिल्यान्डले एक पारी र ३५९ रन एक पारी र ३५९ रनको जित निकाल्यो । बुलबाओ मैदानमा भएको खेलमा न्युजिल्यान्डले ३ विकेट गुमाउँदै ६०१ रनमा पारी घोषणा गरेको थियो ।
जवाफमा जिम्बाबेको पहिलो पारी १२५ रनमा समेटिएको थियो । त्यस्तै दोस्रो पारी ११७ रनमा समेटिएपछि न्युजिल्यान्डले फराकिलो जित निकालेको हो ।
चौथो फराकिलो जितः
विश्व टेस्ट इतिहासमा चौथो सबैभन्दा फराकिलो जित निकाल्ने टोली वेस्टइन्डिज हो । वेस्टइन्डिजले सन् १९५८ मा भारतविरुद्ध यो उपलब्धि हासिल गरेको हो । त्यसबेला वेस्ट इन्डिजले एक पारी तथा ३३६ रनको जित निकाल्यो ।
कोलकाताको इडेन गार्डेनमा सन् १९५८ मा खेलिएको टेस्टमा वेस्टइन्डिजले लिएरोहन कन्हाईको २५६ रनको दोहोरो शतकको बलमा ५ विकेट गुमाउँदै ६१४ रनमा पारी घोषणा गरेको थियो ।
जवाफमा भारतको पहिलो पारी १२४ रनमा समेटिएको थियो । दोस्रो पारी पनि १५४ रनमा समेटिएसँगै भारतविरुद्ध वेस्टइन्डिजले फराकिलो जित निकालेको हो ।
पाँचौँ सर्वाधिक अन्तरको जित
विश्व टेस्ट इतिहासमा सर्वाधिक फराकिलो अन्तरको जित निकाल्ने टोली अस्ट्रेलिया हो । अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध यो उपलब्धि हासिल गरेको हो ।
सन् १९४६ मा खेलिएको खेलमा अस्ट्रेलियाले पहिलो पारीमा ६४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा इङ्ल्यान्डले पहिलो पारीमा १४१ रन बनाएको थियो । त्यस्तै दोस्रो पारीमा १७२ रनमा समेटिएपछि इङ्ल्यान्डले यो उपलब्धि हासिल गरेको हो ।
अस्ट्रेलियाले एक पारी र ३३२ रनको जित निकालेको थियो ।