काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र विवाद बढ्दै गएको देखिएको छ । पार्टीको विवाद बढ्दै जाँदा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल आमनेसामने भएका छन् ।
हालै पार्टीमा भित्र्याइएका वामदेव गौतम पनि खनालको पक्षमा लागे पछि एकीकृत समाजवादीमा अध्यक्ष नेपाल थप अफ्ठेरोमा परेका विश्लेषण भइरहेको छ ।
यसै पनि सम्मानित नेता झलनाथ खनालको पक्षमा महासचिव घनश्या भुसाल पनि रहेको बताइँदै आएको छ । यस्तोमा गौतम पनि उक्त पक्षमा थपिँदा खनाल पक्ष मजबुत बनेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालसमेतलाई प्रतिवादी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेपछि पार्टीभित्र र बाहिरबाट नेपाललाई अध्यक्ष छाड्न दबाब परेको थियो ।
नेतृ रामकुमारी झाँक्रीले नेपाललाई लक्षित गर्दै सिनो बोकेर हिँड्न नसकिने भन्दै कठोर टिप्पणी गरेको थियो । त्यसपछि एकीकृत समाजवादीले उनलाई कारबाहीको चेतावनी दिएको थिय । तर, अहिले आएर झाँक्रीलाईभन्दा बढी दबाब अध्यक्ष नेपाललाई पर्न थालेको छ ।
पार्टीभित्रबाट अध्यक्ष नेपालमाथि दबाब बढ्दै गएपछि निर्धारित केन्द्रीय समितिको बैठक पनि २० दिन पछाडि धकेलिएको छ । भदौ पहिलो साता अर्थात ७ र ८ गते बस्ने गरी केन्द्रीय समितिको बैठक तय भएको थियो । त्यसलाई सारेर अब भदौ २७ र २८ गतेका लागि नयाँ मिति तय गरिएको छ ।
स्रोतहरूका अनुसार खनालले अध्यक्ष नेपाललाई पद छाड्न आग्रह गरिसकेका छन् । त्यसो गरे उनको व्यक्तिगत र पार्टीको पनि हितमा रहेको विश्लेषण खनालले नेपाललाई सुनाएका छन् ।
यति मात्र होइन यी दुई नेताहरूबीचको सम्बन्ध कुन हदसम्म विग्रिएको छ भन्ने कुराको अनुमान यसबाट पनि लगाउन सकिन्छ- अध्यक्ष नेपालले सम्मानित नेता खनाललाई पार्टी छाडेर जान भनेका थिए ।
यो विवाद सल्टाउन दोस्रो तहका नेताहरूले प्रयास पनि गरेका छन् । तर, त्यसले समाधान निकाल्न भने सकेको छैन ।