काडमाडौं । प्रेस सम्बद्ध पाँच संगठनले अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था खारेजीको माग गरेका छन् । माग सम्बोधन नगरिए चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका छन् ।
प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, नेपाल, जनपत्रकार संगठन, नेपाल, क्रान्तिकारी प्रेस संगठन र प्रेस नेपालले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर प्रशासन कार्यालयमा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था घोर निन्दनीय भएको बताउँदै खारेजीको माग गरेका हुन् । वक्तव्य जारी गर्नुअघि प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यालयमा संयुक्त छलफल भएको थियो ।
‘सूचना तथा प्रसारण विभाग तथा प्रदेश कानुन बमोजिम प्रदेशबाट हुँदै आएको अनलाइन सञ्चारमाध्यम प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने नयाँ व्यवस्था गर्नु संघीयताको मूल मर्मलाई अस्वीकार र मिडियालाई नियन्त्रण गर्न खोज्नु हो’, पाँच संगठनका अध्यक्षबाट हस्ताक्षरित संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यो व्यवस्था तत्काल खारेज गरियोस् ।’
सरकारले हालै संसदबाट केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधन गरी अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता तथा नवीकरण गर्नुपर्ने व्यस्था गरेको थियो ।
पाँच संगठनले आमसञ्चारमाध्यमसम्बन्धी एकीकृत कानुन (छाता ऐन) निर्माण गरेर अनलाइनसहितका सञ्चारमाध्यमलाई व्यवस्थित गर्न माग गरेका छन् । ‘सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि विद्यमान झन्झटिलो प्रावधानलाई छाता ऐनमार्फत सरल र सहज बनाइनु पर्छ’, विज्ञप्तिमा भनिएको छ ।
पाँच संगठनले प्रतिनिधिसभाको विषयगत समितिमा छलफलमा रहेको मिडिया काउन्सिल विधेयकका महत्त्वपूर्ण प्रावधान सरकार नियन्त्रित र प्रतिगामी रहेको बताएका छन् । ‘यसले पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले प्रेस स्वतन्त्रताको विश्वव्यापि मान्यता, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, राष्ट्रिय आमसञ्चार नीति २०७३, आमसञ्चार क्षेत्र सुधार समितिको सुझाव र सरोकारवाला पक्षसँगको समझदारीबमोजिम विधेयक संशोधन गरेर स्वतन्त्र, स्वायत्त र सक्षम मिडिया काउन्सिल स्थापना गर्नुपर्ने बताका छन् । ‘सरोकारवाला पक्षसँग पर्याप्त छलफल र समझदारी गरी आवश्यक संशोधन गरेर मात्र विधेयक अगाडि बढाइनु पर्छ’, उनीहरूले भनेका छन् ।
वर्तमान सरकारले एकपछि अर्को गरी प्रेस स्वतन्त्रता विरोधी कार्य गर्दै आएको बताउँदै सञ्चारसम्बन्धी सम्पूर्ण कानुन\नीति बनाउँदा पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन् ।
पाँच संगठनले सरोकारवाला पक्षसँगको छलफलसहित आफ्नो धारणा र मागको संबोधन गर्न सरकार र संसदलाई आग्रह गरेका छन् । माग संबोधनमा तत्परता नदेखाइए चरणबन्द्ध आन्दोलनमा जाने घोषणा समेत गरेका छन् ।
वक्तव्यमा प्रेस सेन्टरका अध्यक्ष कमल गिरी, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका संयोजक नारायण शर्मा र प्रेस नेपालका सल्लाहकार केशव अर्यालले हस्ताक्षर गरेका छन् ।
