काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको सुन्धारास्थित टपरी ममलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । मममा अखाद्य बस्तु भेटिएपछि महानगरले जरिवाना तिराइएको जानकारी दिएको छ ।
सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना तोकिएको महानगरले जानकारी दिएको छ ।
कसरी फेला परेको थियो ?
महानगरका अनुसार नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको थियो । र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि यस्तो कारबाही गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको छ ।
'बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,' न्यौपानेले भनेका छन् ।
महानगरले व्यवसाय सञ्चालकलाई उक्त जरिवाना रकम ७ दिनभित्र बैङ्कमार्फत जम्मा गरी सोको जानकारीसहित महानगरपालिकाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुने गरी उत्पादन र बिक्री–वितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई निर्देशन दिइएको छ ।