काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले किसान, मजदुर र सुकुम्बासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएको तिनको हितमा पार्टीले निरन्तर आवाज उठाएको बताएका छन् ।
पार्टी प्रवक्ता समेत रहेका सापकोटाले शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र)को वर्गीय संगठन समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
माओवादी केन्द्रको आठौँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकपश्चात गठन भएको वर्गीय संगठन समन्वय समितिअन्तर्गत अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल सुकुम्बासी संघ रहेका छन् । तीन वटै संगठनका फ्याक्सन इन्चार्जहरू सदस्य रहेको वर्गीय संगठन समन्यव समितिको इन्चार्जमा सापकोटा रहेका छन् ।
माओवादी केन्द्रले किसान, मजदुर र सुकुम्बासीको हक, हित र अधिकारको पक्षमा निरन्तर आवाज उठाइरहेको दाबी गर्दै उनले भने, 'किसान, मजदुर र सुकुम्बासी हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएकोले तिनको नेतृत्व गर्ने अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र अखिल नेपाल सुकुम्बासी संघ हाम्रो पार्टीका आधारभूत वर्गका सबैभन्दा महत्त्वपूर्ण संगठन हुन् ।'
उनले पार्टीको भर्खरै सम्पन्न स्थायी समितिको बैठकले पार्टीमा एक अभूतपूर्व एकता कायम भएको, पार्टीभित्र चलेका बहस र छलफलका कारण आम जनतामा परेको भ्रम निवारण भएको र पार्टी अब सुदृढ एकतासहित अघि बढ्ने संकल्प गरिएको बताए ।
उनले आधारभूत वर्गका तत्कालीन र दीर्घकालीन मागहरूलाई समेटेर पार्टीको कार्यनीतिलाई रणनीतिसँग जोड्ने गरी संघर्षको उठान गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यसको तयारी गर्न, नवप्रवर्तन, आधुनिकीकरण र तथ्य-तथ्यांकमा आधारित रहेर संगठनलाई सुदृढीकरण गर्न तीनवटै संगठनका नेताहरूलाई निर्देशन दिए ।
बैठकमा तीन वटै संगठनका इन्चार्ज र अध्यक्षहरूले आ-आफ्ना संगठनहरूको संगठनात्मक स्थिति, राजनीतिक-वैचारिक पक्ष, संगठनसँग सम्बन्धित वर्ग र समुदायका समस्याहरू र तिनको समाधानका उपायहरूका साथै संयुक्त मोर्चा र संघर्षको तयारी लगायतका विषयहरूबारे रिपोर्टिङ गरेका थिए ।
बैठकमा उठेका विषयहरूलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष तथा समन्वय समितिका इन्चार्ज सापकोटाले संगठन निर्माण तथा परिवालनका साथै जनताको हक, हित र अधिकारको पक्षमा दृढतापूर्वक लाग्न निर्देशन दिए । बैठकले किसान, मजदुर र सुकुम्बासी संगठनको परिचालन र सुदृढीकरणबारे महत्त्वपूर्ण निर्णयहरू गरेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए ।