पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको दिशामा उद्योगी-व्यवसायीको योगदान अपरिहार्य रहेको बताएका छन् ।
नेपाल उद्योग व्यापार महासंघले पोखराको लेकसाइडमा आयोजना गरेको 'समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका' विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौँ र केन्द्रीय समितिको आठौँ बैठकमा प्रचण्डले उक्त कुरा बताएका हुन् ।
दलाल पुँजीवाद र विचौलियावादको आलोचना गर्दै उनले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गरे । 'कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र विचौलियाको धाक र धम्कीबाट बनेको हो । हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन ।'
प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमै देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गरे । '२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ । म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु,' उनले भने ।
उनले महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको पनि बताए । अझ अध्ययन र लगनशीलता जरुरी रहेको उनको भनाइ थियो ।
प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी दिए । 'हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौँ । ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्,' उनले भने । उनले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको दाबी गरे ।
सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको आलोचना गर्दै प्रचण्डले भने, 'क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन् । हामी त्यसको वैकल्पिक शक्ति हौँ ।'
माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उनको भनाइ थियो । 'हामी मध्यम वर्गकै प्रतिनिधि हौँ । ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो,' उनले भने ।
सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाए । 'हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौँ, तर सरकार ढालियो । त्यसैले त्यो काम अघि बढ्न सकेन,' उनले भने ।