काठमाडौं । प्रेस काउन्सिल नेपालले रेडियो/टेलिभिजन, छापा र अनलाइन सञ्चारमाध्यममा आचारसंहिता अनुगमन प्रभावकारी बनाउन फोकल पर्सन नै तोकेको छ ।
शुक्रबार काउन्सिल सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बोर्ड बैठकले तीन जना सदस्यलाई विशेष जिम्मेवारी दिँदै आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन फोकल पर्सन तोकेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा टेलिभिजन/एफएम रेडियोतर्फ सदस्य नकुल अर्याल, छापातर्फ पदम राज जोशी र अनलाइनतर्फ शन्तराम बिडारीलाई फोकल पर्सन तोकिएको जनाइएको छ ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन देहायानुसारका सदस्यहरूलाई ‘फोकल पर्सन’ का रूपमा तोक्ने र आचारसंहिता प्रतिकूल घटनाका सम्बन्धमा जुनसुकै बखत सम्पर्क गरी उजुरी वा गुनासा राख्न आम जनमानसमा आग्रह गर्ने ।'
यस्तै बैठकले पछिल्लो एक महिना अर्थात् २०८२ भदौ ५ देखि असोज ५ सम्म आमसञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी प्रतिवेदन तयार गर्न सदस्य बालकृष्ण अधिकारीको संयोजकत्वमा विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।
सातै प्रदेशमा पत्रकार आचारसंहिता, मिडिया अनुगमन तथा श्रमजीवी पत्रकार र मिडियाको अवस्था सम्बन्धमा अन्तरक्रिया गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले यसअघि काठमाडौं उपत्यकाका ६ वटा टेलिभिजनमा पत्रकार आचारसंहिता, श्रमजीवी पत्रकार र तत् तत् माध्यमको अवस्थाबारे गरेको स्थलगत नमुना अनुगमन प्रतिवेदनका आधारमा विभिन्न छापा माध्यम, एफएम रेडियो र अनलाइन माध्यमको पनि स्थलगत अनुगमन गर्ने भएको छ ।
