विराटनगर । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप लगाएका छन् ।
वर्तमान सरकारको काम गराइ हेरेर नै केपी ओलीले अहिले टाउको उठाउन थालेको उनको भनाइ छ ।
विराटनगरमा आज (शनिबार) आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने संकेत देखिएको भन्दै निर्णायक संघर्षमा होमिनको लागि न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई अपिल गरेका छन् ।
उनले वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनको लागि बनाइएको भए पनि अहिले सरकारले जथाभावी हात हाल्न थालेको भन्दै त्यसको उपज राजदूतहरू अकारण फिर्ता बोलाइएकोमा आक्रोश पोखे ।
उनले भने, ‘इलेक्सनको म्याण्डेट लिएर बनेको अहिलेको सरकार आफ्ना आसेपासे र भरौटेहरूलाई फेरि राजदूत बनाउनको लागि सक्रिय भयो, म यही कार्यक्रमबाट भन्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईं इलेक्सनमा ध्यान दिनुहोस, यो राजदूतहरू सेलेक्सनमा होइन ।’
राजदूत फिर्ता बोलाउँदा पनि भारतका लागि नेपाली राजदूतलाई फिर्ता नबोलाउनुको कारण पनि उनले प्रधानमन्त्री कार्कीसमक्ष सोधेका छन् ।
उनले भने, ‘भारतका लागि नेपाली राजदूतमा के त्यस्तो क्षमता र गुण रहेछ, उहाँ सबैको प्रिय भइराख्नुपर्ने, रोचक त यो छ कि भारतका लागि अहिलेको राजदूतलाई आरजु राणाको आशीर्वाद छ भनिन्छ, अहिले सुशीला म्याडमपनि आरजुरको खातिरदारीमा लाग्नुभएको हो र ?, होइन भने किन यो तहको अरितक्ति मोह र सम्मान देखाउनुभयो ?’
पूर्वमन्त्री साहले एमाले चुनावदेखि डराएर भाग्न खोजेको भन्दै जनताको अदालतमा उभिन डराउनेहरू कहिल्यै पनि असल राजनीतिक नेतृत्व हुन नसक्ने टिप्पणी गरे । साहले ओलीले आफ्नो अपराधको ढाकछोप गर्नको लागि सिंगो पार्टीलाई नै दाउमा लगाएको भन्दै चुनाव भाँड्ने कुचेष्टा नगर्न चेतावनी दिए । उनले सिंगो एमाले पङ्क्तिलाई देशलाई थप असफल बनाउनबाट बचाउनको लागि पनि चुनावको पक्षमा दृढताका साथ उभिन अपिल गरेका छन् । एकातिर अध्यक्ष ओलीले चुनावमा भाग नलिने निर्णय लिएको भए पनि अर्कोतिर एमाले नेताहरू शितलनिवास र निर्वाचन आयोगतिर चुनावी तयारीको लागि डाकिएको बैठकमा भाग लिने गरेको भन्दै यस्तो द्वेद्धचरित्र नदेखाउनपनि उनको आग्रह छ ।
उनले वर्तमान सरकार चुनाव गराउने दिशामा नदेखिनु र आवश्यक तयारीसमेत नगरेको बेलामा एमालेले चुनावमा भाग नलिने भनेर घोषणा गर्नुमा षड्यन्त्रको गन्ध देखिएको आरोप लगाए । वर्तमान सरकार केपी ओलीकै सिफारिशमा बनेकोले यो सरकारलाई एमालेले असंवैधानिक भनेर भन्न नमिल्ने पनि साहको भनाइ छ ।
देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले राम्रो सुझबुझ देखाउन नसकेको र राजनीतिक प्रतिशोधमो उत्रिन खोजेको आभाष हुन थालेको भन्दै साहले आलोचना गरे ।
गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको म्याण्डेटमा ध्यान दिन भन्दै अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा नलाग्न पनि साहले चेतावनी दिए । उनले देशको गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो सजिलो नहुने भन्दै समयको गम्भीरतालाई ध्यान दिएर चुनावको वातावरण बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्न गृहमन्त्रीलाई सुझाव दिए ।