काठमाडौं । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का नेपालमै रहेको पाइएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ताका क्रममा खड्का भागेर अमेरिका पुगेको र अन्य पनि भाग्न खोजेको टिप्पणी गरेका थिए ।
तर, खड्का सोमबार जेनजी आन्दोलनका क्रममा जलेको आफ्नो घरबाट सार्वजनिक भएका छन् ।
'पहिला भइरहेका राज्यका संयन्त्रबाट काम गर्ने हो । भइरहेका संयन्त्रहरू जब प्रभावकारी देखिँदैनन्, त्यो बिन्दुबाट अर्को संयन्त्र सुरु हुन्छ । त्यो हामीले नजिकबाट हेरेका छौँ । अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ,' नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा गृहमन्त्री अर्यालले भनेका थिए ।
उनले नेताहरूको भागाभाग हुन थालेको भन्दै खड्का भागीसकेको टिप्पणी गरेका थिए । 'अब यहाँ ठुल्ठुला नेताका बारेमा छानबिन सुरु भइरहेको कुरा आइसकेको छ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् । उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौँ,' अर्यालले भनेका थिए ।
'प्रारम्भिक अवस्थामा अनुसन्धान गर्न केही अप्ठ्यारो छैन । खासगरी सम्पत्ति शुद्धीकरणले सम्पत्तिको वृस्तित विवरण हेर्ने हो । त्यो विवरण हेरेपछि बयानका क्रममा उहाँहरूलाई ल्याउनुपर्ने हुन्छ, हाजिर गराउनुपर्ने हुन्छ । अनि मुद्दा पेश गर्दा उहाँहरूलाई पक्राउ गरेर सँगसँगै लैजाने कुरा हुन्छ,' नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा अर्यालले भनेका थिए ।