काठमाडौं । नेपाल पुनः फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको छ । एफएटीएफ विश्वभरको आतंकवादको वित्तीय सहयोग र सम्पत्ति सुद्धीकरण (मनी लउन्डरिङ) को निगरानी राख्ने विश्वव्यापी संस्था हो ।
एफएटीएफले शुक्रबार आफ्नो ताजा समीक्षा रिपोर्ट जारी गरेको छ । उक्त रिपोर्टमा नेपाल पुनः ग्रे लिस्टमा परेको हो ।
एफएटीएफले नेपाललाई फेब्रुअरी २०२५ मा ग्रे-सूचीमा राखिएको थियो । नेपालले एफएटीएफ र एशिया प्रशान्त समूहसँग मिलेर आफ्नो AML/CFT प्रणालीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यद्यपि, एफएटीएफले नेपाललाई सम्पत्ति शुद्धीकरण/आतंकवादको वित्तीय सहयोगको जोखिमहरूको राम्रो पहिचान, बैंकहरू, सहकारीहरू, घर जग्गा (रियल इस्टेट) र क्यासिनोहरूमा कडा निगरानी, अवैध 'हवाला' सञ्चालकहरूमाथि कारबाही, अपराधबाट आर्जित सम्पत्तिहरूको जफत र कानुनी सुधारहरूमा छिटो काम गर्न आवश्यक रहेको बताएको छ ।
यदि नेपालले दुई वर्षभित्र सुधार गरेन भने, उसले अन्तर्राष्ट्रिय वित्तीय प्रतिबन्धहरूको सामना गर्नुपर्ने हुन सक्छ ।
एफएटीएफको उक्त रिपोर्टमा उत्तर कोरिया, इरान र म्यानमार पुन 'ब्ल्याकलिस्ट' मा परेका छन् । ग्रे लिस्टमा भन् नेपालसहित १८ देशहरूलाख राखिएको छ ।
ग्रे-सूचीमा नेपालसहित अल्जेरिया, अंगोला, बुल्गेरिया, क्यामरुन, कोट डी आइभोर, कङ्गोको प्रजातान्त्रिक गणतन्त्र, केन्या, लाओस, मोनाको, नामिबिया, दक्षिण सुडान, सिरिया, भेनेजुएला, भियतनामलाई राखिएको छ ।
ब्ल्याकलिस्टमा परेका देशहरू उत्तर कोरिया, इरान र म्यानमारको सम्पत्ति शुद्धीकरण विरोधी (एन्टी-मनी लाउन्डरिङ - AML) र आतंकवादको वित्तीय सहयोग नियन्त्रण (काउन्टर टेररिस्ट फाइनान्सिङ - CFT) प्रणालीमा गम्भीर कमीहरू रहेको एफएटीएफले जनाएको छ ।
ती देशहरूले लगातार आफ्ना प्रतिबद्धताहरू पूरा गर्न नसकेका र यसले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा जोखिम पैदा गरेको जनाइएको छ ।
एफएटीएफले म्यानमारलाई अक्टोबर २०२२ मा ब्ल्याकलिस्टमा राखेको थियो । देशले अहिलेसम्म आफ्नो कार्य योजनाका अधिकांश बुँदाहरूमा प्रगति गर्न नसकेको रिपोर्टमा उल्लेख छ । अक्टोबर २०२५ सम्म सुधारहरू नभए थप कडा कदम चालिने चेतावनी दिइएको छ ।
उता, बुर्किना फासो, मोजाम्बिक, नाइजेरिया र दक्षिण अफ्रिकालाई प्रगतिको आधारमा एफएटीएफको ग्रे-सूचीबाट हटाइएको छ ।
बोलिभिया, हैटी, लेबनान, ब्रिटिश भर्जिन टापु (बेलायत) र यमनले आफ्नो रिपोर्ट पेश गर्ने कामलाई पछाडि सारेका छन् ।
एफएटीएफको ब्ल्याकलिस्ट र ग्रे लिस्ट के हो ?
एफएटीएफको ब्ल्याकलिस्टमा त्यस्ता देशहरू हुन्छन् जो सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तीय सहयोगसँग जुध्नमा अत्यन्त कमजोर छन् र अन्तर्राष्ट्रिय प्रणालीका लागि गम्भीर खतरा बनेका छन् ।
उनीहरूविरुद्ध कडा प्रतिबन्धहरू र वित्तीय बहिष्कार (financial exclusion) लागू गरिन्छ ।
एफएटीएफको ग्रे लिस्टमा त्यस्ता देशहरू हुन्छन् जो अहिले सुधारको प्रक्रियामा छन्, तर जोखिमहरू भने यथावत् छन् । यदि सुधार भएन भने, उनीहरूलाई ब्ल्याकलिस्ट गर्न सकिन्छ ।