काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयलाई लिएर रुसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । यसअघि रुसप्रति नरम नीति अख्तियार गर्दै आएका भनिएका ट्रम्पको पछिल्लो कदमले युक्रेनलाई भने केही राहत दिने देखिएको छ ।
ट्रम्पले रुससँगको युद्धका क्रममा युक्रेनलाई नयाँ क्षेप्यास्त्र र अन्य हतियारहरू पनि उपलब्ध गराउने बताएका छन् । जसले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई केही राहत पुग्नेछ ।
यसका साथसाथै ट्रम्पले मस्कोलाई ५० दिनभित्र युद्धविराम गर्न अल्टिमेटम नै दिएका छन् । त्यसो नगरे थप प्रतिबन्धहरूको सामनाका लागि तयार रहन पनि चेतावनी दिएका छन् ।
ट्रम्पको यो प्रतिक्रिया नेटोका महासचिव मार्क रुटसँग अमेरिकी राष्ट्रपतिको ओभल अफिसमा भएको भेटवार्तापछि आएको हो ।
उक्त भेटवार्तापछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै निराश भएको पनि टिप्पणी गरे । पुटिनसँग कुरा गर्न रमाइलो हुने भए पनि त्यसपछि उनले युक्रेनमा विनाशकारी आक्रमण गरेको बताए ।
तर, आफूले पुटिनलाई हत्यारा भन्न भने नचाहेको उनको भनाइ छ, पुटिन निकै कडा रहेको उनले बताए । ‘म उनलाई हत्यारा भन्न चाहन्नँ । तर, उनी निकै कडा मान्छे हुन्,’ पुटिनका बारेमा ट्रम्पले भनेका छन् ।
ट्रम्पले युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गर्दै ५० दिनभित्र युद्धविराम नगरे रुसमाथि भन्सार कर बढाउने र थप प्रतिबन्धहरू लगाउने बताएका छन् ।
रोयटर्सले ह्वाइट हउसका एक अधिकारीलाई उद्धृत गर्दै ५० दिनमा सम्झौता नभए रुसमाथि १०० प्रतिशतसम्म भन्सार कर लगाउने मनसायमा ट्रम्प रहेको उल्लेख गरेको छ ।
यसका साथै रुसबाट तेल किन्ने अन्य देशहरूमाथि पनि प्रतिबन्ध लगाउने अमेरिकी तयारी छ ।