काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू तेस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति बन्न अयोग्य नरहेको दाबी गरेका छन् ।
उनले आफूलाई अयोग्य नरहेको भने पनि योग्य कसरी हुन्छन् भन्ने प्रश्न सँगै उठेक छ । किनकी अमेरीकाको संविधानले एउटै व्यक्तिला दुई कार्यकालभन्दा बढी अमेरिकी राष्ट्रपति बन्न इजाजत दिँदैन । र, अहिले ट्रम्प दोस्रो कार्यकालका लागि कार्यभार सम्हालीरहेका छन् ।
सोमबार ट्रम्पले सन् २०२८ मा हुने चुनावमा अमेरिकी उपराष्ट्रपतिको पदको दौडमा आफू नरहेको घोषणा गरेका छन् ।
सोमबार मलेसियाको क्वालालम्पुरबाट जापानको टोकियो जाँदै गर्दा 'एयरफोर्स वन'मा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भनेका छन्, 'मलाई त्यसो गर्न अनुमति हुनेछ ।'
यो एसियाको पाँच दिने भ्रमणको पछिल्लो चरण हो, जसलाई उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार युद्ध विरामको सम्झौता गरेर टुङ्ग्याउने आशा राखेका छन् ।
तर, कतिपयले भने उनलाई आगामी चुनावमा अमेरिकी उपराष्ट्रपतिमा चुनाव लड्न सुझाएका समाचारहरू बाहिरिएका थिए । त्यसो गरे उनलाई घुमाउरो तर, अपरम्परागत बाटोबाट अमेरिकी राष्ट्रपति बन्ने बाटो खुला हुने उनीहरूको मत थियो ।
अमेरिकामा राष्ट्रपतिले राजीनामा दिए वा मृत्यु भए वा अन्य कारणले पद छाडेमा नियमित समयभन्दा अघि राष्ट्रपति पदको चुनाव हुँदैन । उपराष्ट्रपति नै राष्ट्रपति बन्छन् । उपराष्ट्रपति पनि नभए त्यसैगरी यो जिम्मेवारी वरिष्ठ अधिकारीहरूमा सर्दै जान्छ र उ राष्ट्रपति बन्छ ।
यसैअनुसार ट्रम्प उपराष्ट्रपतिमा चुनाव लडेर राष्ट्रपतिमा फर्कन सक्ने बाटो देखाइएको थियो । तर, त्यसका लागि तीन कुरा हुनु आवश्यक छ । पहिलो त ट्रम्प त्यसका लागि तयार हुनुपर्यो । दोस्रो ट्रम्पले चाहेको व्यक्तिलाई अमेरिकी जनताले राष्ट्रपतिमा निर्वाचित गर्नुपर्यो । किनकी अमेरिकामा राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुन्छ ।
अनि अर्को कुरा चाहिँ त्यसरी निर्वाचित भइसकेको व्यक्तिले निर्वाचित भइसकेपछि ट्रम्पका लागि पद त्याग्न तयार हुनुपर्यो । यो यस्तो दुर्लभ संयोग हो जो सहजै सम्भव देखिँदैन ।
ट्रम्प स्वयंले पनि त्यसलाई अस्वीकार गरेका छन् । उनले त्यउसलाई जनताले मन नपराउने र सही पनि नहुने टिप्पणी गरेका छन् ।
'म त्यो गर्नेछैन । मलाई लाग्छ यो धेरै चलाखीपूर्ण हो । हो, म यसलाई अस्वीकार गर्छु किनभने यो धेरै चलाखीपूर्ण छ,' द गर्जियनले ट्रम्पलाई उद्धृत गर्दै छापेको छ, 'मलाई लाग्छ जनताले त्यो मन पराउने छैनन्... यो सही हुनेछैन ।'
अमेरिकी संविधानको २२औँ संशोधनअनुसार, कोही पनि व्यक्ति तेस्रो पटक अमेरिकी राष्ट्रपतिको लागि निर्वाचित हुन पाउँदैन ।
कसै-कसैले यो निषेधलाई छल्ने एउटा उपायको रूपमा ट्रम्प उपराष्ट्रपति बन्ने, जबकि अर्को उम्मेदवार राष्ट्रपति बनेर पछि राजीनामा दिने सुझाव दिएका थिए, जसले गर्दा ट्रम्प, नम्बर २ को रूपमा, पदभार ग्रहण गरी पुनः राष्ट्रपति बन्न सक्थे । तर, कतिपयले भने यो वैधानिक हुने हो कि होइन भन्नेमा प्रश्न पनि उठाएका छन् ।