काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युवा स्ट्राइकर लामिन यामाललाई क्लबको १० नम्बर जर्सी प्रदान गरेको छ । अब बार्सिलोनाबाट मैदानमा उत्रँदा १० नम्बर जर्सीमा लेखिएको हुनेछ- लामिन यामाल ।
खासगरी खेल इतिहासमा कुनै कुनै नम्बरको विशेष महत्त्व हुन्छ । त्यस्तै विशेष महत्त्व छ बार्सिलोनाको १० नम्बर जर्सीको । यो यस्तो जर्सी हो जसलाई पाउने अपेक्षा थुप्रै खेलाडीको हुन्छ । तर, स्वाभाविक रूपमा यो एक समयमा एक खेलाडीले मात्र पाउँछन् ।
त्यसैमध्येका एक हुन् लामिन यामाल । यामालअघि यो जर्सी बार्सिलोनाबाट लियोनेल मेस्सीले लामो समयसम्म लगाएका थिए । त्यस हिसाबले हेर्दा यामाललाई मेस्सीका उत्तराधिकारीका रूपमा पनि हेरिएको छ ।
लिजेन्ड खेलाडीहरूले लगाउने जर्सी नम्बर किशोरावस्थाका यामालले पाउनलाई उल्लेखनीय ब्रेक थ्रुका रूपमा लिइएको छ ।
यामालले गत सिजनमा बार्सिलोनाको १९ नम्बरको जर्सी लगाएका थिए । यही मे मा उनले सन् २०३१ सम्मका लागि क्लबसँग अनुबन्धन गरिसकेका छन् ।
बुधबार बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले एक विशेष समारोहमा यामाललाई १० नम्बरको जर्सी प्रदान गरे । यससँगै उनलाई बार्सिलोनामा मेस्सीको उत्तराधिकारीका रूपमा हेरिएको छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा १० नम्बर जर्सीको विशेष महत्त्व छ । यो जर्सी मेस्सीले मात्र लगाएका होइनन् । डीएगो म्याराडोना, रोनाल्डिन्हो, रोमारियो, रिभाल्डो जस्ता खेलाडीले यो जर्सी लगाइसकेका छन् ।
यामालले १० नम्बरको जर्सी पाएकोमा खुसी व्यक्त गरे । उनी मेस्सीलाई आफ्नो आइडल मान्छन् । ‘हरेकले मेस्सी, रोनाल्डिन्हो र म्याराडोनाबाट केही पाउन चाहन्छ । म त्यो विरासतलाई अगाडि बढाउने प्रयास गर्नेछु,’ यामालले भने ।