एजेन्सी । दुई छोरा र बाबुबीच झगडा भइरहेको थियो । यो झगडा उग्र बन्दै गएपछि एक जना प्रहरी छुट्याउन गएका थिए । तर, बाबुछोरा उनीमाथि नै जाइलागे । अनि ती प्रहरीको ज्यान गयो ।
घटना भारतको तमिलनाडुको हो । तिरुप्पर जिल्लामा भएको यो घटनामा एक प्रहरीले यसकारण ज्यान गुमाउनुपरेको थियो कि उनी बाबुछोराको झगडा छुट्याउन गएका थिए ।
बाबु र दुई छोराबीचको झगडा हिंश्रक हुँदै गएपछि छुट्याउन गएका प्रहरीमाथि नै ती बाबुछोराहरू जाई लागेका थिए । जसका कारण उनको मृत्यु भयो ।
यो सोमबार रातिको घटना हो । यो घटनालगत्तै सो क्षेत्रमा त्रास फैलिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । प्रहरीले यो घटनाका आरोपित ती तीन जना बाबुछोराको खोजी गरिरहेको छ ।
उक्त प्रदेशका मुख्यमन्त्री एमके स्टालिनले प्रहरीको परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । साथै परिवारका एक जना सदस्यलाई रोजगारी दिने पनि बताएका छन् ।
सोमबार राति ती बाबुछोराहरूबीच झगडा हुँदा उनीहरू मदिराको नसामा भएको बताइएको छ । झगडा उग्र बन्दै जाँदा दुवै छोराहरू आफ्ना बाबुकै हत्या गर्ने गरी जाइ लागेका थिए । त्यसपछि त्यहाँ नजिकैका मानिसहरूले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि ड्युटीमा एक जना प्रहरी रहेका थिए । उनी ड्राइभरको साथमा झगडा छुट्याउन पुगेका थिए । ती प्रहरी एसएसआई शान मुगावेल रहेको जनाइएको छ ।
घटनास्थल पुगेका शानमुगावेलले दुई छोराले पिटिरहेका बाबुलाई बचाएका थिए । अनि उनलाई अस्पताल लैजानका लागि एम्बुलेन्स पनि बोलाएका थिए ।
त्यसपछि दुवै छोराले ती प्रहरी शानमुगावेललाई कुटपिट गर्न थालेका थिए । अनि बाबु पनि छोराहरूसँगै मिसिएर प्रहरीलाई कुट्न थाले । जसका कारण ती प्रहरीको मृत्यु भएको हो ।