काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि अतिरिक्त २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो नयाँ कर यसअघि लाग्दै आएको २५ प्रतिशत करमा जोडिएर ५० प्रतिशत पुग्नेछ ।
ह्वाइट हाउसले अतिरिक्त कर लगाउने आदेश जारी गर्दै भनेको छ- भारतले अहिले पनि रुसको तेल आयात गरिरहेको छ । त्यसैले अतिरिक्त कर लगाइएको हो ।
अमेरिकाले भारतमाथि लगाएको यो कर यही अगस्ट २७ देखि लागू हुनेछ ।
यद्यपि, सवाल यो हो कि अमेरिकाले खासगरी भारतलाई नै निशाना बनाएर किन कर लगायो ? किनकी रुससँग तेल किन्ने सवालमा भारतभन्दा चीन निकै अघि छ ।
यति मात्र होइन युरोपदेखि टर्कीसम्मका थुप्रै देशले पनि रुसको तेल किनीरहेका छन् ।
जानकारहरूका अनुसार भारतलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको असन्तुष्टिका थुप्रै अरु कारणहरू पनि छन् ।
जानकारहरूका अनुसार भारतसँग ट्रम्पको असन्तुष्टिका पाँच कारण ।
१ ब्रिक्ससँगको असन्तुष्टिः
ब्रिक्स उदाउँदो अर्थव्यवस्थाहरूको समूह हो । यसमा भारतसमेत चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिकाका अलावा इरान, इथियोपिया, इन्डोनेसिया, इजिप्ट तथा यूएई पनि सहभागी छन् ।
यी सबे देशहरू डलरप्रतिको आफ्नो निर्भरता कम गर्ने पक्षमा रहेका छन् । यही कुरा ट्रम्पलाई मन परेको छैन । अनि उनले समय समयमा ब्रिक्स देशहरूमाथि १०० प्रतिशतसम्म कर लगाउने चेतावनी दिँदै आएका छन् ।
उनले ब्रिक्स देशहरूले आफ्नो मुद्रा चलाउने प्रयास गरेमा उनीहरूले अमेरिकासँगको व्यापारलाई अलबिदा भन्न तयार रहनुपर्ने ट्रम्पको चेतावनी छ ।
रुसमाथि पश्चिमा देशहरूले प्रतिबन्ध लगाएपछि चीनले उससँग रुबल (रुसको मुद्रा) मा तेल किनीरहेको छ ।

अमेरिकी कांग्रेसको रिसर्च सर्भिसका अनुसार सन् २०२२ मा लगभग आधा अन्तर्राष्ट्रिय कारोबार अमेरिकी डलरमा भएको थियो । डलरका कारण विश्व अर्थव्यवस्थामा अमेरिकाको दबदबा छ ।
व्यापार तथा भूराजनीतिका प्राध्यापक फैसल अहमद ब्रिक्सको विस्तार भइरहेको मान्छन् । उनी भन्छन्, ‘यसमा अब ईरान पनि आयो । लोकल मुद्राको विषयमा कुरा भइरहेको छ । जसका कारण अमेरिकालाई डर छ । डलर त्यसबेला मात्र कमजोर हुन सक्छ जतिबेला अन्य मजबुत हुन्छन् । यदि बढी कर लगाइयो भने अर्थव्यवस्थामा नोक्सानी पुग्छ अनि अमेरिकाको दबदबा कायम रहन्छ ।’
अर्कातर्फ थिङ्क ट्याङ्क गेटवे हाउसकी फेलो नयनिमा बासु भन्छिन्- ‘ब्रिक्सका अन्य देशहरू थुप्रै कुराहरू ल्याउन चाहिरहेका छन् । तर उनीहरू भारतको सुस्त रबैयाका कारण ल्याउन सकिरहेका छैनन् । भारतमाथि बारम्बार यो आरोप लाग्दै आएको छ- अमेरिकाको कारण उ ब्रिक्सलाई कमजोर बनाउँदै छ ।’
उनी भन्छिन्- ब्रिक्सका अन्य देशहरू पनि अमेरिकामाथि निर्भर छन्, केवल भारत मात्र होइन । यद्यपि, भारतले यस प्रकारको करको सामना गर्नुपरिरहेको छ ।
२ व्यापार सम्झौतामा मिलेन कुरा
अमेरिका केही वर्षदेखि भारतसँग व्यापार सम्झौता गर्ने प्रयासमा छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यो प्रयास गरेका थिए । तर, सम्झौता हुन सकेको थिएन ।
भारतसँगको व्यापार सम्झौताले अमेरिकाका लागि भारतीय बजार खुल्नेछ भन्ने ट्रम्पको मान्यता छ । तर, केही यस्ता मुद्दा छन् जसमा सहमति हुन सकिरहेको छैन ।
नयनिमा बासु भन्छिन्- भारत व्यापार सम्झौताको प्रतिबद्धताबाट पछि हट्यो । यद्यपि त्यसको पनि खास कारण छ । अमेरिकाले भारतमा बढी एक्सनको माग गरेको छ ।
भारत र अमेरिकाबीच कृषि व्यापार ८ अर्ब डलरको छ । त्यसमा भारतले चामल तथा मसला निर्यात गर्छ । अनि अमेरिकाबाट सुख्खा फलफूल स्याउ तथा दाल आयात गर्छ ।
विज्ञहरूको भनाइ अनुसार भारतले अमेरिकालाई सहुलियत दिँदा किसानहरूबाट पहिले जसरी एमएसपीमा कृषि उपज खरिद गर्न सक्दैन । यसले भारतलाई ठूलो समस्यामा पार्नेछ ।
यसैगरी, दुग्धजन्य पदार्थ, चामल र गहुँ जस्ता वस्तुहरूमा भारतको ग्रामीण अर्थतन्त्र टिकेको छ ।
३ चीनसँगको निकटता
सन् २०२० मा गलवान उपत्यकामा भएको भारत-चीन सैन्य झडपपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो चीन भ्रमणमा जाँदै छन् ।
प्रधानमन्त्री मोदी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म चीन जाने कार्यक्रम छ ।
गत वर्ष अक्टोबरमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच रुसको कजानमा भएको ब्रिक्स सम्मेलनका बेला भेट भएको थियो ।
सन् २०२५ को जुनमा भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल र रक्षामन्त्री राजनाथ सिंह बेइजिङ पुगेका थिए । त्यसपछि विदेशमन्त्री डा. एस जयशंकर पनि चीन गए ।
जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका राजनीति विज्ञान विभागका प्रोफेसर रेशमी काजीका अनुसार भारत र चीन द्विपक्षीय सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् ।
रेशमी काजी भन्छिन्, ‘यदि अमेरिकालाई कुनै देशले चुनौती दिइरहेको छ भने त्यो चीन हो । एक समय यो भूमिकामा रुस थियो, तर अब चीन अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा हो । चीनलाई रोक्न अमेरिकालाई भारतको आवश्यकता छ ।‘
नयनिमा बासु भन्छिन्, ‘भारत र चीनबीच कैलाश मानसरोवर यात्रा फेरि सुरु भएको छ । मलाई लाग्छ कि प्रधानमन्त्री मोदी चीन गएपछि बेइजिङ र दिल्लीबीच सिधा हवाई सेवा पनि सुरु हुनेछ । चीनले यसको माग गरिरहेको छ । भिसा प्रतिबन्धहरू पनि आगामी दिनमा हट्नेछन् ।‘
उनी भन्छिन्, ‘यो सबै अमेरिकालाई मन परेको छैन । रुसबाट तेल खरिद गर्नु त बहाना मात्र हो । यदि भारतले रुसबाट तेल किन्न बन्द गरे पनि के अमेरिकाले भारतमाथि ट्यारिफ लगाउँदैन र ?’
बासुका अनुसार ‘प्रधानमन्त्री मोदी अमेरिका गएका बेला ट्रम्पले भारतलाई 'ट्यारिफ किङ' भनेर सम्बोधन गरेका थिए । त्यसैले ट्यारिफबाट जोगिन मुस्किल नै थियो । यति हुन सक्थ्यो कि त्यो एउटा सीमाभित्र रहोस् ।‘
४ ‘अपरेशन सिन्दूर'को जस नपाउनु
पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्प भारतप्रति जति नरम देखिन्थे, अहिले उति नै कडा देखिएका छन् ।
'अपरेशन सिन्दूर'पछि पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही गरेको थियो । यद्यपि, पछि दुवै देशले युद्धविरामको घोषणा गरेका थिए ।
राष्ट्रपति ट्रम्पले बारम्बार युद्धविराम आफूले गराएको दाबी गर्दै आएका छन्, जबकि भारतले यसमा अमेरिकाको कुनै भूमिका नभएको स्पष्ट पारेको छ ।
जम्मु–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारत र पाकिस्तानबीच सैन्य संघर्षमा परिणत भएको थियो ।
नयनिमा बासुको भनाइ छ, ‘ट्रम्प चाहन्थे कि 'अपरेशन सिन्दूर' को लागि प्रधानमन्त्री मोदीले उनलाई कुनै श्रेय दिऊन् वा कम्तीमा एउटा फोन कल गरून्, तर त्यस्तो कहिल्यै भएन, जुन असन्तुष्टिको एउटा कारण देखिन्छ ।‘
प्रोफेसर रेशमी काजीको पनि यस्तै भनाइ छ । उनी भन्छिन् कि राष्ट्रपति ट्रम्प नोबेल पुरस्कार जित्न चाहन्छन् ।
उनको भनाइ छ, ‘पाकिस्तान, कम्बोडिया र इजरायल जस्ता देशहरूले राष्ट्रपति ट्रम्पलाई शान्तिको नोबेल पुरस्कार दिन माग गरिसकेका छन्, तर भारतले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।‘

५ नन्-ट्यारिफ ब्यारियर
ट्यारिफ र नन्-ट्यारिफ बीचको भिन्नता व्यापार नीति र आयात-निर्यातको नियन्त्रणसँग जोडिएको छ ।
प्रोफेसर फैसल अहमद भन्छन्, ‘जब कुनै सामानको आयात-निर्यातमा कर लाग्छ, त्यसलाई ट्यारिफ भनिन्छ, जबकि नन्-ट्यारिफमा कुनै सामानको मात्रा सीमित गर्नु, लाइसेन्सिङ, जाँच र गुणस्तर नियम जस्ता कुराहरू सामेल हुन्छन् ।‘
उनी भन्छन्, ‘अमेरिकाले लामो समयदेखि नन्-ट्यारिफ नियमहरूलाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएको छ । ट्रम्पको भारतसँगको असन्तुष्टिको यो एउटा ठूलो कारण हो । यद्यपि, नन्-ट्यारिफ सबै देशले लगाउँछन्, तर अमेरिका यसमा छुट चाहन्छ ।‘
प्रोफेसर फैसल भन्छन्, ‘भारत एक विकासशील देश हो, जबकि अमेरिका विकसित । त्यसैले दुवै देशलाई एउटै ठाउँमा राखेर तुलना गर्न सकिँदैन । भारतको जोड घरेलु उत्पादनलाई बढावा दिनमा रहिआएको छ ।‘
बीबीसीबाट