काठमाडौं । दलितहरूलाई कथित उच्च जातका मानिसहरूको गाउँमा जानबाट रोक्न एउटा पर्खाल बनाइएको छ । उक्त पर्खालले दलित समुदायहरूका लागि आवतजावतमा समस्या मात्र खडा गरेको छैन, विवाद पनि बढाएको छ ।
घटना भारतको तमिलनाडुको हो । भारतीय मिडिया लाइभ हिन्दुस्तानका अनुसार भारतको तमिलनाडुको करुर जिल्लाको मुथुलादमपट्टी गाउँमा सो पर्खाल बनाइएको हो ।
अनुसूचित जातिको अरुन्थथियार समुदायका मानिसहरूले थोट्टिया नायकर जातिको सवर्ण हिन्दुहरूले २०० फिट लामो र १० फिट अग्लो पर्खाल बनाएको आरोप लगाएका छन् ।
यो पर्खाल दलितहरूको आवागमन रोक्नका लागि बनाइएको उनीहरूको आरोप छ । उनीहरूले यसलाई 'अछुतको पर्खाल' नाम दिएका छन् । यो पर्खाल सरकारी पोरंबोक (सरकारी स्वामित्वको सार्वजनिक जग्गा) मा बनाइएको छ, जुन करुर कलेक्टर कार्यालयबाट एक किलोमिटर मात्र टाढा रहेको समाचारमा जनाइएको छ ।
अरुन्थथियार समुदायले यो पर्खालले उनीहरूलाई गाउँका अन्य भागहरू, विशेष गरी उच्च जातिहरूको बसोबार भएको क्षेत्रमा जानबाट रोक्ने बताएका छन् ।
उजुरी गर्दा पनि रोकिएन निर्माण कार्यः
द हिन्दुको रिपोर्ट अनुसार दलितहरूले पर्खाल निर्माणबारे जानकारी पाएपछि यसबारे सरकारी अधिकारीहरूलाई उजुरी गरे । थंथोनी गाउँका ग्राम प्रशासनिक अधिकारीले स्थलगत निरीक्षण गरेर थोट्टिया समुदायलाई मौखिक रूपमा काम रोक्न आदेश दिए ।
तर, उनको यो आदेशले पर्खाल निर्माण कार्य रोकिएन । अधिकारीको निर्देशन बेवास्ता गर्दै पर्खालको निर्माण छिटो पूरा गरे ।
पर्खाललाई बनेपछि आक्रोशित अरुन्थथियार समुदायले सडक जाम गरेर विरोध प्रदर्शन गरे र पर्खाल भत्काउन माग गरे । यो विरोधका कारण सरकारी अधिकारी र प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो ।
त्यसपछि दुईपटक वार्ता गरियो । पहिलो बैठक जुलाई १३ मा तहसीलदारको अध्यक्षतामा र दोस्रो जुलाई २९ मा राजस्व विभागीय अधिकारीद्वारा गरिए । यद्यपि, अहिलेसम्म यसको समाधान भएको छैन ।
'अछुतको पर्खाल'
दलित समुदायका ५७ वर्षीय पी. मरुधाई भन्छन्, ‘यो पर्खाल हामीलाई हाम्रो आफ्नै गाउँमा अलग राख्ने प्रतीक हो । यो सिधा-सिधा जातीय भेदभाव हो र हामीलाई अपमानित गर्ने तरिका हो ।‘
उच्च जातिका मानिसहरूले उनीहरूलाई मन्दिर उत्सवका बेला सार्वजनिक 'नाटक मञ्च'को उपयोग गर्नसमेत नदिने उनी बताउँछन् । यहाँसम्म कि जब उनीहरूले आफ्नो लागि छुट्टै मञ्च वा शौचालय बनाउन चाहँदा पनि रोक लगाइन्छ ।
रिपोर्ट अनुसार, ५० वर्षीय एस. दुरैयासामी ले भने, ‘हामीलाई उच्च जातिको इलाकामा चप्पल नलगाइकन नै जान बाध्य पारिन्छ । यदि हामी चप्पल लगाएर गयौँ भने, उनीहरू गाली गर्छन् र चिच्याउँछन् ।‘
के भन्छन् सवर्णहरू ?
थोट्टिया नायकर समुदायका ६२ वर्षीय आर. कन्दासामी भने यी आरोपहरू अस्वीकार गर्छन् । ‘हामीले पर्खाल यसकारण बनायौँ ताकि हाम्रो क्षेत्रमा नशाले मात्तिएका बाहिरी मानिसहरूले दुःख नदिऊन् । यो ठाउँ त वर्षौंदेखि हाम्रो उपयोगमा छ,’ उनी तर्क गर्छन् ।
मदुरैका सामाजिक कार्यकर्ता र अधिवक्ता सी. आनन्दराजले यसलाई लाजमर्दो बताउँछन् । ‘कुनै पनि व्यक्तिले सरकारी जग्गामा पर्खाल बनाउन सक्दैन, विशेष गरी यदि त्यसले मानिसहरूको आवागमन रोक्छ भने । यसका लागि कुनै प्रकारको अनुमति पनि लिइएको छैन । यसलाई तत्काल भत्काइनुपर्छ,’ उनी भन्छन् ।
करुर कलेक्टर एम. थंगवेल ले द हिन्दुसँगको कुराकानीमा भनेका छन्, ‘यो अछुतको पर्खाल हो कि होइन म अहिले भन्न सक्दिनँ । मैले राजस्व विभागीय अधिकारीलाई जाँचको आदेश दिएको छु । उनको रिपोर्टको पर्खाइमा छु । रिपोर्ट आएपछि मात्र स्थिति स्पष्ट गर्न सकिन्छ ।‘