काठमाडौं । युक्रेन युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनु केही दिनअघि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई लिएर कठोर टिप्पणी गरेका छन् ।
रोयटर्सका अनुसार ट्रम्प र पुटिनबीच शुक्रबार आलास्कामा तय भएको वार्ता हुनुभन्दा केही दिनअघि मात्रै भिक्टर ओर्बानले मंगलबार रूसले युक्रेन युद्ध जितेको टिप्पणी गरेका हुन् । त्यसो त युरोपेली नेताहरूले ओर्बानको आलोचना गर्दै आएका छन् ।
सन् २०१० देखि सत्तामा रहेका ओर्बानलाई रुससँग उनको सरकारको सम्बन्धलाई लिएर युरोपेली नेताहरूले आलोचना गर्ने गरेका छन् । युक्रेनका लागि सैन्य सहायताको विरोध गरेकोमा पनि उनको आलोचना भइरहेको छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पनि हंगेरी र रुसको सम्बन्ध सुमधुर रहेको बताइन्छ । अनि उनी युरोपेली संघका एकमात्र त्यस्ता नेता हुन् जसले युक्रेनले आफ्नो भविष्यको निर्णय गर्ने स्वतन्त्रता पाउनुपर्छ भन्ने संयुक्त वक्तव्यलाई समर्थन गरेका छैनन् ।
ओर्बानले 'प्याट्रियट' युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'हामी अहिले यो खुला युद्धको अवस्था हो भनी कुरा गरिरहेका छौँ, तर यो त्यस्तो होइन । युक्रेनीहरूले युद्ध हारेका छन् । रूसले यो युद्ध जितेको छ ।'
उनी अगाडि भन्छन्, 'एउटै प्रश्न यो हो कि कहिले र कुन परिस्थितिमा युक्रेनीहरूलाई समर्थन गर्ने पश्चिमा देशहरूले यो कुरा स्वीकार गर्नेछन् र यो सबैको परिणाम के हुनेछ ।'
युक्रेनको भविष्यको विषयमा निर्णय गर्न युरोप र युक्रेनबिना पुटिन र ट्रम्पबीच हुन लागेको विषयलाई पनि उनले संकेत गरे ।
उनले युरोपको संलग्नताबिना नै युरोपबारे निर्णय हुन लागेको भन्दै युरोपेली नेताहरूलाई संकेत गर्दै भनेका छन्, 'यदि तपाईं वार्ताको टेबुलमा हुनुहुन्न भने, तपाईं 'मेनुमा' हुनुहुन्छ ।'