काठमाडौं । दुनियामा प्रायः सामान्यभन्द असामान्य घटनाहरूले चर्चा पाउने गरेका छन् । अनि यस्ता घटनाहरूबारे थाहा पाउनु मानिसको रुचि पनि हुन्छ ।
विवाह पनि त्यसैमध्येको एक हो । विवाह सामान्यतया मिल्दोजुल्दोमा हुनुलाई सामान्य मानिन्छ । तर, अमिल्दो भएमा पनि त्यसले चर्चा पाउने गर्दछ । यद्यपि, सदियौँदेखि भनिँदै आएको छ- प्रेम अन्धो हुन्छ ।
तर, विचित्र विवाहको खबर सधैँ नै समाचारहरू र सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छ । यी विवाहहरू सामान्यभन्दा बिल्कुलै फरक हुन्छन् ।
कहिले सामाजिक मान्यतालाई तोडेका कारण, त कहिले अनौठा परिस्थिति वा उमेरको ठूलो अन्तरका कारण यस्ता विवाहले धेरैको ध्यान खिच्ने गर्छन् । अहिले पनि एउटा यस्तै विवाहको खबर चर्चामा छ र यसको कारण पनि उमेरकै ठूलो अन्तर हो ।
हालै, ६३ वर्षकी जापानी महिला अजाराशीले आफूभन्दा धेरै कान्छा व्यक्तिसँग विवाह गरिन्, जो उनको आफ्नै छोराभन्दा पनि छ वर्ष कान्छा छन् । अजाराशीले बताएअनुसार, उनीहरूको पहिलो भेट सन् २०२० मा टोकियोको एउटा क्याफेमा भएको थियो ।
त्यहाँ उनले एउटा बेवारिसे मोबाइल फोन फेला पारेकी थिइन् । जब त्यस फोनका मालिक, जो अहिले उनका श्रीमान् हुन्, फोन खोज्दै आए, तब अजाराशीले तुरुन्तै उनलाई फोन फर्काइदिइन् । तर भाग्यले उनीहरूलाई फेरि भेट गरायो ।
त्यस घटनाको सात दिनपछि उनीहरू फेरि भेट भए । एक-अर्कालाई चिनेपछि उनीहरूले फोन नम्बर साटासाट गरे ।
अजाराशीको यसअघि पनि विवाह भइसकेको थियो, तर ४८ वर्षको उमेरमा डिभोर्स भएपछि उनी एक्लै आफ्ना बच्चाको पालनपोषण गर्दै थिइन् ।
यद्यपि, ति युवकसँग उनको भेट हुनुअघि अजाराशीले केही डेटिङ एपहरूमा भेटघाट गरेकी थिइन् । तर पछि उनले एक्लै बस्ने निर्णय गरिन् ।
तर, जब उनको भेट त्यस नौ जवान र सुन्दर युवकसँग भयो, तब उनी प्रेममा परिन् । त्यसपछि उनीहरू हरेक रात एक घण्टाभन्दा बढी समय फोनमा कुरा गर्थे । अजाराशीले भनिन्, 'चाहे कामको कुरा होस्, दैनिक जीवनको कुरा होस् वा रुचिहरूको कुरा, उसले मलाई बुझ्छ । मलाई लाग्यो कि उसले साच्चै नै ममा रुचि राख्छ र यसले मलाई खुसी बनाउँथ्यो ।'
साउथ चाइना मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार, एक महिनासम्म डेटिङ गरेपछि मात्र उनीहरूलाई एक-अर्काको वास्तविक उमेर थाहा भयो ।
अजाराशीको विवाहित छोरा, जो आफ्नी आमाको नयाँ प्रेमीभन्दा ६ वर्ष जेठा छन्, ले सुरुदेखि नै यस सम्बन्धलाई समर्थन गरे । तर, त्यस युवककी आमा सुरुमा यस सम्बन्धको विरुद्ध थिइन् । पछि छोराको चाहनालाई देखेर उनले पनि यो सम्बन्ध स्वीकारिन् ।
त्यसपछि सन् २०२२ मा उनीहरूले विवाह दर्ता गराए र त्यसयता उनीहरूको सम्बन्ध झनै बलियो बनेको छ ।
उनीहरू दुवै मिलेर एउटा म्यारिज एजेन्सी पनि चलाउँछन् । यो अनौठो प्रेम कहानी अनलाइनमा निकै चर्चामा छ । केही मानिसहरूले यस कहानीको प्रशंसा गरिरहेका छन् भने केहीले उमेरको अन्तरलाई लिएर फरक विचार व्यक्त गरिरहेका छन् ।
जापानबाट यस्तो अनौठो प्रेम कहानी बाहिर आएको यो पहिलो पटक होइन । गत महिना एउटा यस्तै खबर आएको थियो, जहाँ २३ वर्षका कोफीलाई ८३ वर्षकी आफ्नी सहपाठीकी हजुरआमासँग प्रेम भएको थियो ।
६० वर्षको उमेरको अन्तर भए पनि यो जोडी अहिले पनि प्रेममा छ र सँगै बस्छ । कोफीले भने, 'जब म मेरो साथीको घर गएँ र आइकोलाई देखेँ, तब त्यो मेरो लागि पहिलो नजरमै प्रेम थियो ।'
यद्यपि, दुवै एक-अर्काप्रति आकर्षित थिए, तर सुरुमा उनीहरूले प्रेम व्यक्त गर्न हिचकिचाइरहेका थिए, विशेषगरी उमेरको ठूलो अन्तरका कारण। उनीहरूको सम्बन्धमा ठूलो मोड तब आयो जब आइकोकी नातिनीले डिज्नील्यान्ड जाने योजना बनाइन् । त्यसयता यो जोडी सँगै छ ।
जी न्युजबाट