काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिएका छन् । ट्रम्पले रुस-युक्रेन युद्धको विषयमा अस्थिर प्रकृतिको अभिव्यक्ति दिँदै आएका छन् ।
सुरुमा युक्रेनप्रति आक्रामक देखिएका ट्रम्प पछि युक्रेनको पक्षमा नरम बनेका थिए । अनि रुसप्रति कडा रूपमा प्रस्तुत भएका उनले पछि नरम रबैया अपनाउँदै आलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।
आफ्नो पछिल्लो अभिव्यक्तिमा भने ट्रम्प रुसप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले रुसलाई 'पेपर टाइगर' अर्थात् 'कागजी बाघ' भनेका छन् । उनले युक्रेनले युद्धमा 'आफ्नो गुमाएको जमिन फिर्ता लिन सक्ने' पनि बताएका बीबीसीले समाचार प्रकाशित गरेको छ ।
ट्रम्पको यो भनाइलाई रुस-युक्रेन युद्धबारे उनको अडानमा ठूलो परिवर्तन मानिएको छ । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा उनले एउटा पोस्टमा लेखेका छन्, 'युरोप र नेटोको समर्थन र रुसी अर्थतन्त्रमा बढ्दो दबाबका कारण युक्रेनले 'युद्ध सुरु भएको आफ्नो मूल सीमाहरू फिर्ता पाउन सक्छ ।'

ट्रम्पले 'युक्रेन र रुसको सैन्य तथा आर्थिक अवस्थाबारे पूर्ण रूपमा जानकारी र बुझाइपछि' आफ्नो सोच परिवर्तन भएको बताएका छन् । रुसलाई कागजी बाघको संज्ञा दिँदै उनले भने, 'पुटिन र रुस ठूलो आर्थिक समस्यामा छन् र यो युक्रेनका लागि कारबाही गर्ने समय हो ।'
बीबीसीले ट्रम्पको यो प्रतिक्रिया युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि आएको जनाएको छ । ट्रम्पले मंगलबार न्यूयोर्कमा संयुक्त राष्ट्र महासभालाई सम्बोधन गरेपछि उनीहरूबीच भेटवार्ता भएको थियो ।
ट्रम्पले बारम्बार रुस-युक्रेन युद्ध समाप्त गर्ने इच्छा व्यक्त गरिरहेका छन् । ट्रम्पले आफ्नो चुनावी र्यालीका क्रममा जो बाइडेनको ठाउँमा आफू राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध सुरु हुँदै नदिने बताएका थिए ।
त्यसभन्दा पनि अघि बढेर ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भए २४ घण्टामै युद्ध समाप्त गर्ने दाबी गरेका थिए । तर, उनले भने जसरी युद्धले मोड लिएन ।
जसअनुसार ट्रम्पले सुरुमा रुसप्रति नरम रबैया अपनाएका थिए । उनले यसअघि उनले युक्रेनले युद्धविराम वा कुनै सम्झौतामा पुग्नका लागि आफ्नो केही भूभाग त्याग्नुपर्ने हुन सक्छ पनि भनेका थिए ।
यद्यपि, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले निरन्तर युक्रेनले आफ्नो जमिन नछोड्ने बताइरहेका छन् ।
रुस-युक्रेन मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानमा आएको परिवर्तनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसमा प्रतिक्रिया दिएका छन् ।
जेलेन्स्कीले ट्रम्पको व्यवहारमा आएको 'ठूलो परिवर्तन'को प्रशंसा गरेका छन् । संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिका अब 'युद्ध समाप्त भएपछि' युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन तयार रहेको जस्तो देखिएको बताए ।
त्यो ग्यारेन्टी कस्तो हुनेछ भनेर सोध्दा उनले भने, 'म झूट बोल्न चाहन्न, हामीसँग कुनै ठोस जानकारी छैन ।' यद्यपि, जेलेन्स्कीले युक्रेनलाई थप हतियार, हवाई सुरक्षा र ड्रोनहरू प्राप्त हुने सम्भावनाको कुरा गरेको बीबीसीले जनाएको छ ।
पछि फक्स न्युजसँगको कुराकानीमा जेलेन्स्कीले ट्रम्पको ट्रुथ सोसलमा युक्रेनको अवस्थाबारेको पोस्ट देखेर आफू अचम्मित भएको बताए, तर उनले यसलाई 'सकारात्मक संकेत' माने कि ट्रम्प र अमेरिका 'युद्धको अन्त्यसम्म युक्रेनसँग रहनेछन् ।'
जेलेन्स्कीले त्यो सामाजिक सञ्जाल पोस्टको सन्दर्भमा बोलिरहेका थिए, जसमा ट्रम्पले युरोप र नेटोको समर्थन र रुसी अर्थतन्त्रमा बढ्दो दबाबका कारण युक्रेन 'आफ्नो मूल सीमाहरू फिर्ता पाउन सक्छ' भनेका थिए । यो पोस्टमा ट्रम्पले रुसलाई 'पेपर टाइगर' भनेका छन् ।
जेलेन्स्कीले फक्स न्युजसँग भने, 'मेरो विचारमा पुटिनले राष्ट्रपति ट्रम्पसँग धेरै पटक झूट बोलेका कारण पनि यो परिवर्तन आएको हो ।'
यसअघि मंगलबार संयुक्त राष्ट्रसंघमा आफ्नो सम्बोधनपछि ट्रम्पले नेटो देशहरूले आफ्नो हवाई क्षेत्रको उल्लंघन गर्ने रुसी विमानहरूलाई खसाल्नुपर्ने पनि बताए ।
हालैका दिनहरूमा रुसी लडाकु विमान र ड्रोनहरू नेटो देशहरूको हवाई सिमानामा देखिएका धेरै घटना भएका छन् ।
एजेन्सीहरूको सहयोगमा