काठमाडौं । नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल भनेर दाबी गरिएको ग्लोबल डायरी सार्वजनिक भएको छ ।
नेपाललाई डिजिटल रूपमा जोड्न, व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको बताइएको छ ।
नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको जनाइएको छ ।
व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरि बताउँछन् ।
उनका अनुसार ग्लोबल डायरी नेपालको माटोमै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ । यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यावसायिक संस्था तथा सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरलाई सजिलै पहुँचयोग्य बनाउने उद्देश्य बोकेको यसका निर्माताले बताएका छन् ।