काठमाडौं । फ्रान्सका नयाँ प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार राजीनामा दिएका छन् । लेकोर्नु पछिल्ला दुई वर्षमा फ्रान्सका पाँचौँ प्रधानमन्त्री थिए ।
बीबीसीले फ्रान्समा राजनीतिक अस्थिरता बढ्दै गएको उल्लेख गरेको छ ।
उनको राजीनामा नयाँ मन्त्रिपरिषद्को घोषणा भएको केही घण्टापछि नै आएको हो । लेकोर्नुले सोमबार बिहान राष्ट्रपति इम्यानुअल म्याक्रोँसँग करिब एक घण्टा भेटवार्ता गरे । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट उनको राजीनामाको घोषणा गरियो ।
फ्राँस्वा बेयरुको सरकार ढलेपछि लेकोर्नुले फ्रान्सको प्रधानमन्त्रीको पद सम्हालेका थिए । यो जिम्मेवारी सम्हालेको २६ दिन मात्र भएको थियो ।
नयाँ मन्त्रिपरिषदमा उनले धेरैजसो पदहरूमा बेयरु सरकारका मन्त्रीहरूलाई नै लिएका थिए र केही पदहरूमा नयाँ नियुक्ति गरेका थिए । सबै पार्टीहरूले यसको कडा आलोचना गरेका थिए ।
लेकोर्नुको राजीनामापछि अब धेरै पार्टीहरूले शीघ्र चुनावको माग गरिरहेका छन् । केही पार्टीहरूले त म्याक्रोँको राजीनामासमेत मागिरहेका छन् ।
यद्यपि, म्याक्रोँले २०२७ मा आफ्नो कार्यकाल समाप्त नभएसम्म राष्ट्रपति पद नछोड्ने स्पष्ट पारिसकेका छन् ।
नेसनल र्याली पार्टीका एक ठूला नेता सेबास्टियन चेनूले भने, "संसद विघटन वा राजीनामा—म्याक्रोँले यी दुईमध्ये एक रोज्नुपर्छ ।"