काठमाडौं । नोबेल पुरस्कार सन् २०२५ को घोषणा सुरु भएको छ । सन् २०२५ को चिकित्सा तर्फको नोबेल पुरस्कारको घोषणा गर्दै यसको सुरुवात गरिएको हो ।
सन् २०२५ को नोबेल पुरस्कारहरूको घोषणा सोमबार फिजियोलोजी र मेडिसिन क्षेत्रका विजेताहरूसँगै सुरु भएको छ ।
नोबेल कमिटीले यस क्षेत्रमा मेरी ई ब्रुकउ (Mary E. Brunkow), फ्रेड राम्सडेल (Fred Ramsdell) र शिमन साकागुची (Shimon Sakaguchi) लाई नोबेल पुरस्कार दिने घोषणा गरेको छ ।
तीनै जनालाई इम्युन प्रणालीलाई शरीरकै विरुद्धमा काम गर्नबाट रोक्ने तत्त्वको खोजमा योगदान पुर्याएबापत यो पुरस्कार प्रदान गरिएको हो ।
नोबेल कमिटीका प्रमुख ओल क्याम्पले भने, 'उहाँहरूको खोजले हाम्रो इम्युन प्रणालीले कसरी काम गर्छ र हामीलाई गम्भीर अटोइम्युन रोगहरू किन लाग्दैनन् भन्ने कुरा बुझ्न मद्दत गरेको छ ।'
वास्तवमा, हाम्रो इम्युन प्रणालीले हरेक दिन हजारौँ किसिमका सूक्ष्म जीवहरू (माइक्रोब्स) लाई शरीरभित्र प्रवेश गर्नबाट रोक्छ । तीमध्ये केही सूक्ष्म जीवहरू मानव कोष (Human Cells) जस्तै देखिन्छन् ।
यस्तो अवस्थामा, इम्युन प्रणालीले कुन कोष (सेल) माथि आक्रमण गर्ने र कसलाई शरीरमा आउन दिने भनेर कसरी निर्णय गर्छ भन्ने प्रश्न उठ्थ्यो ।
नोबेल विजेताहरूको खोजले यस निर्णयका लागि जिम्मेवार तत्त्व पत्ता लगाएको छ, जसको नाम 'टी सेल्स' हो ।
उनी0हरूका अनुसार, इम्युन प्रणालीमा 'टी सेल्स' सुरक्षा गार्ड को रूपमा काम गर्छन् र यिनीहरूले इम्युन कोषहरूलाई शरीरमाथि आक्रमण गर्नबाट रोक्छन् ।