काठमाडौं । इजरायल र हमासबीच गाजामा जारी युद्ध रोक्ने र बन्धक तथा कैदीहरू सटही गर्ने ऐतिहासिक सम्झौता भएको छ ।
यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अघि सारेको हो, र यसले दुई वर्षदेखि चलिरहेको विनाशकारी युद्ध अन्त्यतर्फ लैजाने सबैभन्दा ठूलो प्रगति मानिएको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'यसको अर्थ हो- सबै बन्धकहरू चाँडै नै मुक्त हुनेछन्, र इजरायलले आफ्ना सैनिकहरूलाई सहमति भएको रेखासम्म फिर्ता लैजानेछ । यो एक दृढ, दिगो र शाश्वत शान्तिको पहिलो कदम हुनेछ ।'
सबै पक्षलाई न्यायपूर्वक व्यवहार गरिने पनि उनले जनाएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि सामाजिक सञ्जालमा लेखेका छन्, 'परमेश्वरको कृपाले हामी सबै बन्धकहरूलाई घर फर्काउनेछौँ ।'
त्यस्तै, हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ- समूहले यस्तो सम्झौतामा सहमति जनाएको छ, जसले गाजामा युद्ध अन्त्य गर्ने, इजरायली सेनाको फिर्ता, मानवीय सहयोगको प्रवेश, र बन्धक तथा कैदी सटही सुनिश्चित गर्नेछ ।
हमासले ट्रम्प र अन्य मध्यस्थकर्तालाई आग्रह गरेको छ- इजरायलले सम्झौताको सबै प्रावधान 'बिना ढिलाइ र अस्वीकार' पूर्ण रूपमा कार्यान्वयन गर्ने सुनिश्चितता दिलाउनुपर्छ ।
सम्झौताअनुसार, हमासले आउँदो साप्ताहिक अन्त्य (सप्ताहान्त) भित्र सबै २० जना जीवित बन्धकहरूलाई मुक्त गर्नेछ भने इजरायली सेनाले गाजाको अधिकांश भागबाट फिर्ता हुन सुरु गर्नेछ ।