काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयका भाइ प्रिन्स एन्ड्रयूले आफ्ना सबै शाही उपाधिहरू त्याग्ने घोषणा गरेका छन् ।
एन्ड्रयूले शुक्रबार एक बयान जारी गर्दै आफूले अब 'ड्यूक अफ योर्क' जस्ता पदवीहरू प्रयोग नगर्ने घोषणा गरेका छन् । प्रिन्स एन्ड्रयूको नाम यौन प्रकरणमा जेफ्री एप्सटीनको मामिलामा अगाडि आएको छ ।
यसबाहेक एक रकमको हिनामिना तथा कथित रूपमा चिनियाँ जासुससँगको सम्बन्धलाई लिएर पनि उनिमाथि प्रश्न उठाइएको छ ।
यद्यपि प्रिन्स एन्ड्रयूले भने आफूमाथि लगाइएका सबै आरोप खारेज गरेका छन् । उनले ती आरोपहरूलाई 'पूर्ण रूपमा अस्वीकार' गरेका छन् । यद्यपि, यसले उनको छविमा भने नकारात्मक असर पारेको छ ।
जेफ्री एप्सटीन मामिलाकी पीडित भर्जिनिया गिफ्रेको किताब चाँडै नै प्रकाशित हुने तयारीमा छ । उक्त किताबमा प्रिन्स एन्ड्रयू र एप्सटीनबीचको नजिकको सम्बन्धको उल्लेख छ । जसले उनलाई थप अफ्ठेरोमा पार्न सक्ने आँकलन गरिएको छ ।
मिडिया रिपोर्टहरू अनुसार प्रिन्स एन्ड्रयूमाथि लागेका आरोपहरूका कारण उनले कुनै न कुनै निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
खासगरी राजा र रानीले अर्को हप्ता भेटिकनमा पोप लियोलाई भेट्ने तयारी गरेका छन् । जसका कारण प्रिन्स एन्ड्रयूमाथि थप दबाब बढेको थियो । शाही दरबार प्रिन्स एन्ड्रयूका समाचारहरूका कारण यो समय खराब नहोस् भन्ने चाहन्थ्यो ।
भर्जिनियाले सन् २०२१ मा एन्ड्रयूविरुद्ध मुद्दा पनि दायर गरेकी थिइन् । गिफ्रेले उनी १७ वर्षकी हुँदा जेफ्री एप्सटीनले उनलाई एन्ड्रयूकहाँ लगेका र प्रिन्सले उनको यौन शोषण गरेका उल्लेख गरेकी थिइन् ।