काठमाडौं । अहिलेको समयमा सम्बन्धको परिभाषा बदलिएको छ। सम्बन्धमा एकअर्काप्रति गरिने मायाका साथसाथै सम्मान र सहयोगी भावनाले पनि उत्तिकै महत्त्व पाउँदै आएको छ ।
व्यस्त जीवनशैलीका कारण मानिसहरूको सम्बन्धमा निकै उतारचढावहरू आउन थालेका छन् । खासगरी विवाहित र अविवाहित जोडीहरू एकअर्काको सम्बन्धलाई सुमधुर बनाइराख्न कतिपय सन्दर्भमा असफल हुने गरका छन् । सानो समस्याले पनि सम्बन्धलाई समाप्तिको संघारमा पुर्याउने गरेको उदाहरण देखिन्छ ।
यस्तोमा सम्बन्धलाई कसरी सुमधुर र मजबुत बनाइराख्ने त ? त्यसो त सम्बन्धलाई सुमधुर र मजबुत बनाउने थुप्रै उपायहरु छन् । आज भने सम्बन्ध सुमधुर बनाउन मद्दत गर्ने चार सरल बानीका बारेमा चर्चा गर्नेछौँ ।
यी ४ नियमलाई सधैँ ध्यानमा राख्नुपर्छ जसले सम्बन्धलाई सधैँ बलियो बनाइराख्छ । माया सधैँ गहिरो भइराख्छ । तपाईं पनि सम्बन्धमा यी कुराहरूलाई अवश्य ध्यानमा राख्नुहोस् ।
अरुका अगाडि रिस नदेखाउनुस्, झगडा नगर्नुस्
त्यसो त रिस हानीकारक हुन्छ । नरिसाउनु र रिस नदेखाउनु नै उत्तम हो । तर, रिसाउनु पनि मानवीय स्वभाव भएकाले नचाहँदा नचाहँदै पनि कहिलेकाहीँ रिस उठ्न सक्छ । यस्तो अवस्थामा भने केही ध्यान पुर्याउनुपर्छ ।
कतिपय जोडीहरू आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दैनन् र अरू मानिसहरूको सामु लड्न-झगड्न थाल्छन् । उनीहरूले एकअर्कालाई यस्ता धेरै कुरा भनिदिन्छन् जुन मन दुखाउने खालका हुन्छन् ।
यस्तोमा अरू मानिसहरूको सामु भनिएका यी कुराहरूले आवश्यकताभन्दा बढी चोट पुर्याउँछ । कयौँ पटक कुरा धेरै ठूलो नभए पनि अरूको सामु भनिएको हुनाले अपमान जस्तो लाग्छ । यस्तोमा अरूको सामु झगडा गर्ने बानी सम्बन्धलाई खराब गर्ने साबित हुन सक्छ ।
घुम्न जाने गर्नुहोस्
सम्बन्धमा आउनुअघि जोडीहरू प्रायः बाहिर जान्छन्, सँगै घुम्छन् र सँगै नयाँ-नयाँ ठाउँको योजना बनाउँछन् । तर, सम्बन्धमा आएपछि यो बानी छुट्न थाल्छ ।
जोडीहरूलाई लाग्छ कि घरमै बस्नु राम्रो हो र बारम्बार बाहिरको योजना किन बनाउने । तर, यस्तो गर्नुहुँदैन । यसको सट्टा महिनामा एक पटक त सँगै डेटमा जानैपर्छ । तपाईं चलचित्र नाइटको योजना बनाउन सक्नुहुन्छ, कुनै राम्रो क्याफेमा जान वा कुनै गतिविधि गर्नका लागि बाहिर जान सकिन्छ ।
झगडा सुल्झाएर सुत्नुहोस्
यदि जोडीहरू झगडा गर्छन् भने उनीहरूले राति झगडा सुल्झाएर मात्र सुत्नुपर्छ । झगडा गरेर पहिलो कुरा त निद्रा लाग्दैन र दोस्रो कुरा जतिबेला पनि सुत्ने प्रयास गरे पनि मनमा उथलपुथल भइरहन्छ ।
यस्तोमा राति यदि झगडा भएको छ भने गुड नाइट भनेर मात्र होइन, एकअर्कासँग कुरा गरेर झगडा सुल्झाउने प्रयास गर्नुपर्छ ।
स्क्रिन फ्री आवर
दिनभरिमा कम्तिमा १ घण्टा यस्तो हुनुपर्छ जब तपाईं दुवै एकअर्काको छेउमा बस्नुहोस् र फोनलाई टाढा राख्नुहोस् । यसरी तपाईंहरू साँच्चै एकअर्कालाई सुन्न सक्नुहुनेछ र आफ्नो कुरा पनि राम्रोसँग बुझाउन सक्नुहुनेछ । तपाईं दुवैको पूरा ध्यान एकअर्कामा हुनेछ ।