काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयकुमार पाण्डेको ‘दिशानिर्देश’ पोडकास्टलाई दिएको अन्तर्वार्ताका क्रममा समकालीन राजनीतिमा तीव्र विवाद भइरहेको विषयमा पनि आफ्ना प्रतिक्रिया दिएका छन् ।
त्यसक्रममा उनले समकालीन राजनीति र विश्व राजनितिका बारेमा पनि आफ्नो धारणा प्रस्तुत गरेका छन् । उक्त अन्तर्वार्ताका केही प्रसंगलाई हामी यहाँ प्रस्तुत गर्दैछौँ ।
आफ्ना कमजोरीहरूबारेः
म मानिसले भनेपछि विश्वास गर्छु । कहिले कहिले धोका खान्छु । अर्को, म एकदम हरेक गोल मिस नगरी पोस्टमा हान्ने खेलाडी होइन । मेरा थुप्रै गोलहरू मिस हुन्छन् । म आफू त्यो त्यस्तो खेलाडी अथवा अरूभन्दा कुनै विशिष्ट व्यक्तित्व, विशिष्ट व्यक्ति, विशिष्ट जानकार, विशिष्ट बुद्धिमान त्यस्तो केही ठान्दिनँ । अलिक बुद्धि कम भएको मान्छे हुँ, इमान बढी भएको हुँ । म कस्तो भने, कहिले कहिले अलिकति भावनाले काम गर्छु । त्यो भावनाले गर्दा मलाई त्यो भावनामा अलिक मानिसहरुप्रति बढी विश्वस्त हुने अथवा त्यस्तो कुराहरुमा कहिले कहिले मैले बढ्तै विश्वास गरेर धोका पाउने ।
अरुलाई गरेको विश्वासबारेः
... मैले विश्वास गर्छु र म के ठान्छु भने, मेरो नजरिया ठीक छ–यस सम्बन्धमा । मेरो हेराई ठीक छ । मेरो मूल्याङ्कन ठीक छ । अब कहिले कहिले कालान्तरमा गएर एस्तो के ठानेको, के निक्लियो जस्तो मैले त्यो पाउछु । कहिले कहिले मैले शंकाको लाभ दिएर फेरि विश्वास गर्छु मान्छेहरूलाई । मैले थुप्रैलाई त्यसरी विश्वास गरेको छु । विश्वास गर्न नहुने खालका मान्छेहरूलाई अब मलाई विश्वास गर्नुस् भनेपछि विश्वास गरेको छु । तर त्यो शंकाको लाभ पछि दुरूपयोग हुन्छ ।
नेपाली कांग्रेससँगको सम्बन्धबारेः
... प्रतिस्पर्धा नेपाली कांग्रेस र हाम्रो बीचमा छ राजनीति रूपमा । वैचारिक भिन्नता छ, दार्शनिक र राजनीतिक भिन्नता छ । अलिकति अब, अलिकति क्लास आउटलुकको भिन्नता होला, स्वार्थहरूको भिन्नता होला । तर नेपाली कांग्रेस र एमाले फेरि प्रतिस्पर्धी पार्टी पनि हुन् नि । अनि, मेरो सबैभन्दा निकट सम्बन्ध शेरबहादुर देउवाजीसँग छ, विश्वासको सम्बन्ध छ ।
देउवासँगको सम्बन्धबारेः
... मेरो तर्फबाट सँधैका लागि, उहाँले अन्यथा नगरेसम्म मेरो तर्फबाट सदैका लागि । उहाँले अन्यथा गरेपछि त फेरि एउटै हात राखेर ताली बजाउ भन्दा कसरी बज्छ र ! मेरो हात यस्तै हुन्छ । अर्कोले हात झिकिसकेको हुन्छ भने त बेग्लै कुरा हो । अदरवाइज मेरो तर्फबाट...
प्रचण्डसँगको स्वर्ग र नर्क सँगै जाने प्रसंगबारेः
... स्वर्ग जाने नर्क जाने सम्बन्ध थियो । भन्नुभएको हो, उहाँले पनि धेरै पल्ट भन्नु भएको हो । ...धेरै पल्ट धोका दिनुभएको हो । स्वर्ग जाने, नर्क जाने, हाम्रो विषयमा मौखिक मात्रै होइन । त्यै शब्दमा लिखितम् नगरे पनि धेरै शब्दमा धेरै पल्ट लिखितम् गरेका हौँ । पछि, ती लिखितमहरू अर्थहीन भएर गएका हुन् र नभएका कुराहरू पछि आएका हुन् । तपाईंले यो पछिल्लो पल्ट उहाँले पार्लियामेन्टमा बोलेको सुन्नु भयो होला ।
आफ्ना कमजोरी नदेखेको बारेः
अँ–मैले जानेर कुनै कुकर्म गर्दिनँ, कहिल्यै । जानेर असत्यको बाटो हिंड्दिनँ । त्यसो भएर मैले सिम्प्ली भने नि, कहिले कहिले गल्तीहरू भएका होलान् । तर यो देशको विरुद्ध कहिले गल्ती भएको छैन, जनताविरुद्ध कहिले गल्ती भएको छैन । मैले गल्ती गरेको छैन, कहीं बेइमानी मैले गरेको छैन ।
संविधान संशोधनबारेः
कांग्रेस र हाम्रो मात्रै पनि दुईतिहाई पुग्दैन । अरू सरकार बनाउनेमा सहमत हुनु र संविधान संशोधनका इस्युमा सहमत हुनु बेग्लै कुरा हो । अहिले सामाान्य भूमि विधेयकमा त हामीलाई कत्रो कसरत गर्नु परेको छ । अर्को कुरा, अहिले त यो कोलिसन छ भने नै हामी संविधान संसोधनको कुरा गर्न सक्छौँ । त्यसो भएर संविधान संशोधनमा जान भन्दा अगाडि पहिले कोालिसनको ग्यारन्टी गर्नुपर्यो र संविधान संशोधनको कुरा गर्नु पर्यो, होइन र ?
... कामकुरा एकातिर कुम्लो बोकी थिमीतिर भनेजस्तो असान्दर्भिक ढंगले नहुने परिस्थितिमा, नहुने कुरामा बहस चलाएर मान्छेहरूलाई विभाजित गर्नुको केही अर्थ हुँदैन । हामीले संशोधन गर्ने भनेर कांग्रेस र हामीले दोस्रो बुँदामै लेखेका हौँ । तर हामी हेरिराखेका छौँ । हामी हिसाब गरिराखेका छौँ । के अहिले हामी संविधान संशोधन गरी हाल्न सक्ने अवस्था मा छौँ त ? भन्दाखेरि त्यस खालको अवस्था छैन । हामीले संसद हेर्नुपर्यो, संसदको स्थिति हेर्नुपर्यो, संख्या हेर्नुपर्यो । यी सबै कुरा हेर्नुपर्यो ।
अनि विभिन्न खालका फोर्सेस तिनको अवस्था हेर्नुपर्यो र तिनका अडान दृष्टि कोणाहरूको परिवर्तनको सम्भावना हेर्नुपर्यो । यो सबै कुरा हेरेर मात्रै अगाडि बढ्नुपर्यो । अर्को के भने, तपार्ईंलाई भनौँ, हामीले संविधानसभाबाट संविधान बनाउन खोज्यौँ, एउटा संविधानसभा फेल भयो । एउटा संविधानसभा किन फेल भयो भने त्यो संविधान सभा थियो । त्यसकारण फेल भयो । यदि त्यो संविधानसभा हुँदैन्थ्यो, त्यो कमिसन हुन्थ्यो भने त्यो फेल हुन्थेन । त्यसो भएर यो संविधान सभा त अब धेरै खालका स्वार्थहरु थिएन नि । संविधान बन्न नदिने अनि हलो अड्काउने अनि गोरु चुट्ने भन्छ नि, त्यस्तो गरेर संविधानसभा त भंग त भयो नि एकपल्ट । त्यसलाई अनेक जुक्तिहरू निकालेर बनाउन सकिंदो हो । त्यसपछि पनि संविधान बनाउने प्रश्न त सजिलो त प्रश्न त थिएन । संविधान बनाऊ भन्दै खेरि त मैले त माइको झट्टी नै खाएको हौ नि । शारीरिक हमला पनि भएको हो त पालिरामेन्टभित्र । त्यसकारण संसदभित्र संविधान बनाउन भन्दा पनि त्यसलाई एउटा प्रयोगको थलो बनाउने मनसाय पनि थियो नि मानिसहरूको । पछि अर्को परिस्थितिमा अर्को मनसाय बन्यो होला । ती आफ्ना ठाउँमा छन् । त्यसो भएर हामीले संविधान संशोधन गर्नुपर्छ । संविधान भनेको गतिशील दस्तावेज हो । गतिशील बनाउनै पर्छ । त्यसका लागि अनुकूल वातावरणको सिर्जना गर्नुपर्छ । त्यसमा हामीले ध्यान दिइराखेका छौँ । मौकाको सदुपयोग गर्न सकेन भन्ने कुरा होइन । अब तपार्ईंले अघि भन्नुभयो, गल्ती स्वीकार गर्दैन, कमी कमजोरी आफ्नो रियलाइज गर्दैन भनेर । कमी कमजोरी छ नि त, दुई तिहाई मेरै आगुवाइमा, मेरै पहलमा दुई तिहाइको पार्टी बनाइएको थियो । त्यो टिकाउन सकिएन । टिकाउन किन सकिएन भन्दा अब आफू भन्दा बलियोसँग लड्न सकिएन र पछारियो । मैले म एकदम विजेता हुँ त भनेको छैन नि । मैले हानेका गोलपोस्टमा सबै जान्छन् भन्न सकिंदैन भनेर अघि नै मैले भनेँ । मलाई कहिले कोर्टले हराउँछ । कहिले अरूले हराउँछन । कहिले कुन शक्तिले कसलाई लगाएर प्रहार गर्छ ।
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय हुने विषयमाः
... यो गम्भीर प्रश्न हो । यो व्यवस्थासँग, सामाजिक सुप्रबन्धसँग र राजनीतिक प्रणालीको मर्मसँग र यो गणतन्त्रसँग हामीले जो नयाँ स्थापित गरेको व्यवस्था हो, यो कुरासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । त्यसकारण यो गम्भीर विषय हो, एउटा ।
तपार्ईंले भन्नुभयो, यो अब प्रधानन्यायाधीश, राष्ट्रपति, उपराष्ट्रपति भनेर । प्रधानन्यायाधीशलाई पनि त्यस्मा जोड्न मिल्दैन । प्रधानन्यायाधीश राज्यका अंगहरू मध्ये एउटा अंगको मात्रै प्रमुख हो । राष्ट्रपति भनेको त सिङ्गै देशको, सिङ्गै राज्यका सबै अंगहरूको प्रमुख हो । हुन त, अदालतले पनि त्यसरी ट्रिट गरेको छैन राष्ट्रपतिलाई । अदालत पनि कहिले कहिले दम्भ देखाउन खोज्छ आफ्नो । तर राष्ट्रपति राज्यका सबै अंगहरूको प्रमुख हो । राष्ट्रपति देशप्रति, जनताप्रति र संविधानप्रति उत्तरदायी हुन्छ । उसको खास उत्तरदायित्व अरूपट्टी हुँदैन ।
र त्यसअन्तर्गत एउटा साझा व्यक्तित्वको रूपमा मर्यादित हुनुपर्ने भएको हुनाले, कुनै पार्टीको सदस्य राष्ट्रपति हुन सक्दैन ।
राष्ट्रपति हुनुभन्दा अगाडि उसले पार्टी परित्याग गरेको हुनुपर्छ । पार्टी छोडेर म निष्पक्ष हुन्छु र राष्ट्र प्रमुखको भूमिकामा मैले अभिभावकत्व दिन्छु भन्ने भावका साथ जान्छ र त्यहाँ बसेर त्यही काम गर्छ । राष्ट्रपतिजीहरूले अहिलेसम्म यो अलिकति नयाँ अभ्यास हो र अहिलेसम्म यो नयाँ अभ्यासमा पनि मैले त्यसैगरी काम गरेको देखेको छु ।
विद्याजीले राष्ट्रपति छँदासम्म त्यस कुरालाई मेन्टेन गर्नुभएको थियो । निष्पक्ष भूमिका र राष्ट्र प्रमुखको हैसियतले संविधानसम्मत ढङ्गले चल्नुपर्ने र संविधानको रक्षक र पालकको हिसाबमा काम गर्ने भूमिकामा उहाँले राम्रै काम गर्नुभएको थियो ।
राष्ट्रपति भनेको सेनाको परमाधीपति पनि हो र देशकै एउटा संरक्षकीय भूमिकामा हुन्छ राष्ट्रपति, सबैको साझा । त्यसकारण कहिले कहिले राष्ट्रपतिले पोलिटिकल एक्टिविटी गरे जस्तो देखिन्छ कि दलहरूलाई बोलाएर पनि कहिले कहिले परामर्श गर्ने गर्छ, राष्ट्रपतिले । त्यो यद्यपि राष्ट्रपतिको जरूरीको काम होइन, तर पनि त्यो अभिभावकीय भूमिका अन्तर्गत हामीले ठिकै ठानेका छौँ । यो सबैभन्दा बढी रामवरणजीको समयमा उहाँले बढ्तै गर्नुहुन्थ्यो बोलाउने र गर्ने । पोलिटिकल पार्टीहरूले त्यसलाई मानेकै पनि थिए र त्यो मर्यादा कायम रहनुपर्छ । त्यो गणतन्त्रको मर्यादा कायम रहनुपर्छ ।
राजा हटाएर हामीले राष्ट्रपतिको व्यवस्था गरेका हौँ, राजाको स्थानमा । सरकार, प्रधानमन्त्री त पहिले पनि हुन्थ्यो । अरु सबै कुरा त हुन्थे, राष्ट्रपति हुँदैन्थ्यो । राष्ट्रपति र उपराष्ट्रपति भनेको उस्तैउस्तै होइन । यो उस्तै उस्तै होला कि जस्तो गरेर कहिले कहिले मानिसहरूले बुझ्छ, त्यस्तो होइन । जगेडा एउटा राखेको मात्रै हो उपराष्ट्रपति भनेको । राष्ट्रपति भनेको बेग्लै चिज हो । भारतमा पनि उपराष्ट्रपतिलाई त राष्ट्रियसभाको अध्यक्ष बनाउँछ ।
... तर राष्ट्रपतिमाथि त्यस्तो हुँदैन । त्यसकारण त्यसबाट, त्यो टीका टिप्पणीबाट माथि रहेको मान्छे फेरि ओर्लिनु वाञ्छनीय हुन्न भन्ने कुरा चाहिँ यसै देखिन्छ । अब यो संवैधानिक प्रश्न होइन, यो कानुनी प्रश्न होइन । यो नैतिकताको प्रश्न हो र यो नैतिक मूल्यमा आधारित भएर बसाउनु पर्ने थिति हो । अघिल्लो राष्ट्रपति रामवरण यादवजीले यो थिति बसाएको देखिन्छ । यो नैतिक मूल्यमा आधारित भएर थिति बसाउन खोजेको देखिन्छ ।
अब विद्याजीको हकमा उहाँले कहाँ, कहाँ परामर्श गर्नुभयो, कतै त गर्नुभयो होला । तर मसँग चाहिँ परामर्श भएन । परामर्श नभइकन पार्टीको अध्यक्ष म छु, मैले अध्यक्षता गइराखेको छु । पार्टी छँदैछ । पार्टीसँग उहाँको कुनै प्रस्ताव आएन । म राजनीतिमा फर्केर आउँछु, कसरी काम गरुँ ? मलाई सक्रिय राजनीतिमा आउन मन छ । आउन मिल्छ मिल्दैन । आऊं नआऊं देशलाई फाइदा हुन्छ कि हुँदैन । संवैधानिक प्रक्रिया कस्तो हुन्छ अथवा प्रणालीगत हिसाबले के हुन्छ ? त्यो राष्ट्रपतिको पदको गरिमाको हिसाबले फेरि राष्ट्रपतिबाट फर्केर सक्रिय राजनीतिमा आउँदा सिंगै देशको सर्वमान्य नेताबाट एउटा दल विशेषको कार्यकर्ता हुन आउँदा कस्तो हुन्छ ?
यी कुनै पनि विषयमा विचार विमर्श, अन्तर्राष्ट्रिय प्राक्टिस कस्तो अवस्थाको राष्ट्रपतिको के छ, ती कुराहरू, यसमा विचार विमर्श गरौँ भनेर, अब कतिपय देशहरूमा के छ भने राष्ट्रपति फेरि प्रधानमन्त्रीमा आउँछ, प्रधानमन्त्रीमा पावर केन्द्रित गर्छ, फेरि राष्ट्रपतिमा केन्द्रित गर्छ । फेरि राष्ट्रपतिमा फर्किन्छ । यस्तो पनि देखिएको छ । अब कतिपय देशका अनुभवहरू आफ्नै खालका होलान् ।
तर त्यहाँ राजतन्त्रसँग कुनै सन्दर्भ, सरोकार साइनो सम्बन्ध केही मानिंदै मानिंदैन । राजतन्त्र हुन्छ भन्ने उनीहरुले अरु देशको कुरा सुन्दा हो, त्यो कुनै ताजा स्मरणमा छैन, ती देशहरूमा राजतन्त्र सयौ वर्ष बितिसक्यो । सयौँ वर्ष अगाडिदेखि राजतन्त्र नभएका देशहरूमा त्यसको झल्को पनि मान्छेहरू आउँदैन । तर यहाँ त भर्खर राजतन्त्र फालेका छौं र राजतन्त्र पक्षधरहरू उफ्री राखेका छन् । राजतन्त्र फर्काउनुपर्छ, हामी फर्काउँछौ भनेर ज्योतिषीहरू पनि १६ गते असार भित्रमा नल्याए मेरो ज्योतिष विद्या डडाएर फ्याकिदिन्छु भन्ने । म देशै छोडेर हिँड्छु भन्नेसम्मका बाजी राखेर हिंड्छन् ।
... यसमा उहाँले अरुसँग मलाई थाहा छैन । मसँग सरसल्लाह गर्नुभएन र पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन । पार्टीमा कुनै मौखिक/लिखित केही गर्नु भएन ।
... यसमा पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्नुपर्छ । किनभने हामीले उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन । हामीले पठाएको हो राष्ट्रपतिमा । उहाँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति भएपछि राष्ट्रपति हुन भन्दा क्यान्डिडेट हुने भन्ने तय भइसकेपछि उहाँले पार्टी छोड्नुभयो । पार्टी छोडेर नै जानुपर्छ । पार्टी छोड्न भन्दा अगाडि त हाम्रो उपाध्यक्ष नै हो ।
... उहाँले प्रश्न उठाइसकेपछि र म आउँछु भनेपछि, उहाँले आउन हुन्छ हुँदैन, मोरल्ली हुन्छ हुँदैन । गणतन्त्रमा के असर पर्छ, समाजमा के असर पर्छ, राजनीतिमा के असर पर्छ, व्यवस्थामा के असर पर्छ, उहाँकै जीवनमा के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै ।
यो निर्णयको हामी कति टाइमफ्रेम राख्न सक्छौं ?
यो हेर्न पर्छ, सल्लाह गर्नुपर्छ ।
जस्तो मोटामोटी तर अनन्तकालसम्म झुण्डि त राख्दैन यो विषय ?
उहाँले आफैँले विचार गर्नु पर्ने जस्तो लाग्छ । खोई, के बोलिराख्नु भएको छ ।
उहाँले त आउछु भनिसक्नु भयो नि । एमालेले यस विषयमा कुन टाइमफ्रेममा निर्णय गर्छ भनेको मैले चाहिँ ?
हामीले पनि जानकारी प्राप्त गरेका छौं । उहाँले सार्वजनिक ढंगले बाहिर बोलेका कुराहरू, आउँछु भनेका कुराहरू ती के हुन्, उहाँसँग हामीले सोध्नुपर्छ ।
यो निर्णय चाँडै हुन्छ कि हामीले यत्तिकै ?
धेरै ढिलो त गर्दैनौँ ।
किनभने एकथरिले यो पनि भनिरहेका छन् कि यो चाहिँ एउटा तपार्ईं र विद्याजीबीचको एउटा सुविचारित स्ट्रेटेजी हो कि उहाँलाई अध्यक्ष हस्तान्तरण गर्ने हो भनेर, सुनियोजित ?
अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त उहाँ राजनीतमा आउनुहुन्छ भनेर पार्टीले त्यो ठानेको र मानेको नै अवस्था छैन एउटा । दोस्रो उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ । पहिले पनि उहाँले लिडरसिपमा बसेर काम गरेको त्यस्तो संगठनात्मक अनुभव छैन ।