काठमाडौं । अक्षय कुमार र अरशद वारसीको कोर्टरूम ड्रामामा आधारित चलचित्र जोल एलएलबी-३ अन्ततः सिनेमाघरहरूमा प्रदर्शन सुरु भएको छ ।
लामो समयदेखि दुवैलाई एकसाथ हेर्न आतुर फ्यानहरूका लागि यो चलचित्र राम्रो अवसर बनेर आएको थियो । जोली एलएलबी फ्रेन्चाइजका अघिल्ला दुई फिल्महरूले ठूलो सफलता हासिल गरेका थिए । ती दुवै चलचित्रले राम्रो व्यापार गरेका थिए ।
तर, तेस्रो भागले कस्तो कमाइ गर्ला, दर्शकहरूमा कस्तो प्रभाव पार्ला भन्ने चासो रहेको थियो । यो चलचित्रको पहिलो दिनको कलेक्सनले यसबारे धेरै कुरा प्रस्ट्याएको छ ।
सुभाष कपुरको निर्देशनमा बनेको जोली एलएलबी-३ हिजोदेखि प्रदर्शनमा आएको हो । कमेडी फिल्मका किङका रूपमा परिचित अक्षयले फेरि एकपटक दर्शकहरूलाई हँसाउन कुनै कसर बाँकी राखेनन् ।
अरशद वारसीसँग उनको जोडीको प्रदर्शन उत्कृष्ट बनेको प्रतिक्रियाहरू आइरहेका छन् । फिल्मको कथा र कलाकारहरूको प्रस्तुतिले दर्शक र समीक्षकहरूको मन जितेको भारतीय मिडियाहरूले जनाएका छन् ।
यो चलचित्र प्रदर्शन भएको पहिलो दिनमै बक्स अफिसमा छाएको छ । यो फिल्मले पहिलो दिन शानदार ओपनिङ गरेको भारतीय मिडियाहरूले जनाएका छन् । यस वर्ष रिलिज भएका ११ हिट फिल्मको ओपनिङ रेकर्ड यो चलचित्रले तोडेको दैनिक जागरणले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।
एक रिपोर्टका अनुसार जोली एलएलबी-३ ले पहिलो दिन भारतीय बक्स अफिसमा साढे १२ करोड भारुको ओपनिङ गरेको समाचारमा जनाइएको छ । शुक्रबार फिल्मको कमाई यति राम्रो भएकोले सप्ताहन्तमा यसले थप धमाका मच्चाउने अपेक्षा गर्न सकिने भारतीय मिडियाहरूले जनाएका छन् ।