काठमाडौं । कक्षा ६ मा अध्ययनरत तीन जना छात्राले स्वरबद्ध गरेको माता जगदम्बाको भजन सार्वजनिक भएको छ ।
भक्तपुर निस्ट स्कुलमा अध्ययनरत सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको स्वरमा माता जगदम्बाको भजन घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो ।
भक्तपुर निस्ट स्कुलमा सोमबार एक कार्यक्रमका बीच प्रिन्सिपल दिलिप रानाले औपचारिक रूपमा भजन सार्वजनिक गरेका छन् । नानीहरूले निकै राम्रो भजन गाएको र यसले विद्यालयका अरु बालबालिकालाई पनि प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।
भजनमा बालबालिकाले आफूहरूले जानेर या नजानेर गरिरहेको भक्तिलाई बुझेर दर्शन दिन देवी मातासँग प्रार्थना गरेका छन् । उनीहरूले देवी जगदम्बासँग ज्ञानको भिक्षा पनि मागेका छन् ।
सबै जीव देवी माताकै सन्तान भएको र हरेक जीवमा माताकै अंश रहेको कुरालाई भजनले मूल रूपमा उजागर गरेको छ ।
पत्रकार डीआर आचार्यले रचना गरेको भजनमा राजेन्द्र सुवेदीले संगीत भरेका छन् । भजनको म्युजिक भिडियोको निर्देशन केवशराज भट्टले गरेका हुन् ।
'अम्बे ! अम्बे ! जय अम्बे ! जय जगदम्बे !' शीर्षकमा रहेको भजनमा संगीतकार सुवेदीको पनि स्वर छ । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भजनको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् भने रेकर्डिस्ट शंकर लिम्बू हुन् ।
भजनको प्रोडक्सन म्यानेजर नथुनी जैसवाल रहेका छन् । भजनमा डीआर आचार्य एवं गायिकाहरू सौम्या, आरोशी र विदिताले अभिनय गरेका छन् ।
भजनको सिनेमाटोग्राफर अजय रेग्मी हुन् भने शृंगारमा विमला तामाङ रहेकी छन् । दिपक विष्टले सम्पादन गरेको भिडियोको पोस्ट प्रोडक्सन प्रफिट मिडिया प्रालिले गरेको हो ।
भजन सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रिन्सिपल रानासहित शिक्षक तथा अन्य कर्मचारीहरू, अभिभावक एवं विद्यालयका बालबालिकाको उल्लेख्य सहभागिता थियो ।